• Menu

मुलुकबाहिर बसेर आर्जन गरेको ज्ञान, सीप र पुँजी नेपाल भित्र्याउन आग्रह

नेपाल प्रफिट

२०८१ असार २, २०:०१

मुलुकबाहिर बसेर आर्जन गरेको ज्ञान, सीप र पुँजी नेपाल भित्र्याउन आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको सकारात्मक वातावरण बन्दै गरेकाले नेपालमा लगानी गर्न अष्ट्रेलियामा रहेका गैरआवासीय नेपालीहरुलाई आह्वान गरका छन् ।

नेपाल राष्ट्र बैंक, नेपाल उद्योग वाणिज्य महासंघ र गैरआवासीय नेपाली संघ, अष्ट्रेलियाको संयुक्त आयोजनामा अष्ट्रेलियाको मेलबर्नमा आइतबार आयोजित कार्यक्रममा अध्यक्ष ढकालले नेपालीहरुले मुलुकबाहिर बसेर आर्जन गरेको ज्ञान, सीप र पुँजी नेपाल भित्र्याउन आवश्यक रहेको बताए ।

ढकालले नेपालमा लगानीका असीमित सम्भावना रहेको र लगानीको वातावरण पनि बन्दै गएको जानकारी गराए । ‘नेपालमा जलविद्युत, पर्यटन, सूचना प्रविधि, खानी तथा कृषिजन्य उद्योगमा प्रचुर सम्भावना छ,’ उनले भने, ‘लगानी सम्मेलन २०२४ लाई लक्षित गरी नेपाल सरकारले ८ भन्दा बढी कानुन संशोधन गर्दै प्रत्यक्ष वैदेशिक लगानी तथा आन्तरिक लगानी वृद्धिका लागि वातावरण सिर्जना गर्न पहल गरेको छ ।’

महासंघको नेतृत्वमा स्थापना हुने १० अर्ब रुपैयाँ पुँजीको लगानी कम्पनीको विषय सरकारले आगामी वर्षको लागि ल्याएको बजेटमा समेत समावेश गरेको र यसले नेपालमा विभिन्न सम्भावित आयोजनामा लगानी गर्ने उनले बताए ।

उनले यस कम्पनीमा सेयर लगानी गर्दै नेपालको विकास र समृद्धिमा हातेमालो गर्न अष्ट्रेलियामा रहेका गैरआवासीय नेपालीलाई आग्रह गरे । अध्यक्ष ढकालले नेपाल उद्योग वाणिज्य महासंघमा वैदेशिक लगानी प्रवर्तनका लागि छुट्टै एफडीआई डेक्स स्थापना गरेको पनि जानकारी दिए ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बोमबहादुर मिश्रले नेपालमा रेमिट्यान्स पठाउँदा औपचारिक बैंकिङ माध्यमको प्रयोग गर्न आग्रह गरे । उनले कुनै पनि विदेशी व्यक्ति तथा गैरआवासीय नेपालीले नेपालमा लगानी गर्दा त्यहाँ गरेको नाफा लैजान कुनै समस्या नरहेको र यसमा नेपाल राष्ट्र बैंकले सहजीकरण गर्ने बताए ।

ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले नेपाली बैंकहरू ठूलाठूला लगानीका लागि सक्षम बन्दै गएको जानकारी दिए । नेपाली बैंकमा निक्षेप राख्दा सुरक्षित हुने र तुलनात्मक रुपमा बढी ब्याज पाइने उनले उल्लेख गरे । कार्यक्रममा दुई सयभन्दा बढी गैरआवासीय नेपालीको सहभागिता थियो ।