गुल्मी । चिदीचौर खेल मैदान चिटिक्क र आकर्षक बनेको छ ।
कूल ७६ हजार वर्गमिटर क्षेत्रफलको खेल मैदानमा दुबो लगाउने काम सकिएपछि आर्कषक देखिएको हो ।
रेसुङ्गा नगरपालिकाले खेलकुद मैदानमा दुबो लगाउन २० लाख विनियोजन गरेको थियो । दुबो लगाउन जिल्लास्थित सुरक्षा निकाय, विभिन्न संघसंस्था, क्लब तथा स्थानीयसहित चार सय भन्दा बढी व्यक्तिले जनश्रमदान गरेका थिए ।
जिल्ला सदरमुकाम तम्घासको ‘गहना’ भनेर चिनिने उक्त खेलकुद मैदान चिदीचौरको अहिले स्वरुपमा नै परिवर्तन आएको स्थानीयले बताएका छन् ।
रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले वर्षायाममा हिलाम्मे हुने चिदीचौर हरियो कार्पेट बिछ्याएजस्तै सुन्दर देखिएको बताए ।
‘यो गुल्मी जिल्लाको गहना हो, त्यसैले हामीले यसलाई खेलकुदको प्रवर्धनसँगै चिदीचौरको दिगो संरक्षण गर्ने, कलात्मक मञ्च निर्माण गर्ने र यसको सौन्दर्यकरण गर्ने गरी काम अघि बढाएका छौँ,’ नगर प्रमुख पन्थीले भने । दुबो लगाएर हरियाली बनेपछि खेल मैदान हेर्न तथा तस्बिर खिच्न आउने सर्वसाधारणको चहलपहल बढेको छ ।
खेल मैदानको निर्माण लुम्बिनी प्रदेश सरकारको सहयोगमा भएको हो । ९० लाख एक हजार २७० को लागतमा उक्त खेलकुद मैदान निर्माण पूरा भएपछि दुबो रोप्ने काम भएको हो ।
खेल मैदानको निर्माणको काममा ढिलाइ हुँदा जिल्ला तरीय राष्ट्रपति रनिङ शिल्ड, मेयर कपलगायत विभिन्न खेलकुद प्रतियोगिता सदरमुकामभन्दा बाहिर गई सञ्चालन गर्नुपरेको थियो ।
लामो समयदेखि अधुरो रहेको खेल मैदान व्यवस्थित बनेपछि खेलाडी, खेलप्रेमी तथा सर्वसाधारणमा उत्साह बढ्नुका साथै उक्त स्थानमा आर्थिक चहलपहल समेत बढेको छ ।