• Menu

३५० रुपैयाँको सामान किन्दा १० लाखको बम्पर उपहार !

नेपाल प्रफिट

२०८३ भदौ १, सोमबार १७:३७

३५० रुपैयाँको सामान किन्दा १० लाखको बम्पर उपहार !

काठमाडौं । करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत साउन महिनाको दोस्रो पाक्षिक पुरस्कार घोषणा गरिएको छ । आन्तरिक राजस्व विभागले अर्थ मन्त्रालयमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र अर्थसचिव डा. घनश्याम उपाध्यायले पुरस्कार घोषणा गरेका हुन् ।

साउन १६ देखि ३१ गतेसम्म नियमसम्मत कारोबारमा सहभागी उपभोक्तामध्ये गणेश इलेक्ट्रोनिक्स एन्ड मोबाइल सेन्टरबाट ३५० रुपैयाँको सामान खरिद गर्ने एक उपभोक्ताले १० लाख रुपैयाँको करदाता बम्पर प्रोत्साहन पुरस्कार प्राप्त गरेका छन् ।

विभागका अनुसार करदाता प्रोत्साहन कार्यक्रम सुरु भएको पहिलो महिनामै पुरस्कारमा सहभागी हुने उपभोक्ताको संख्या उल्लेख्य रूपमा बढेको छ । साउन १६ देखि ३१ गतेसम्म मात्रै ३ लाख ५७ हजार १४९ वटा नगद कारोबारका बिल पुरस्कारका लागि दर्ता गरिएको छ ।

यसअघि साउनको पहिलो १५ दिनमा पुरस्कारका लागि ७ हजार ७७ वटा मात्र बिल दर्ता भएका थिए । दोस्रो पाक्षिक अवधिमा बिल दर्ता गर्ने उपभोक्ताको संख्या उल्लेख्य बढेपछि करदाता प्रोत्साहन कार्यक्रमप्रति सर्वसाधारणको आकर्षण बढेको विभागले जनाएको छ ।

विभागले नियमित तथा नियमसम्मत कारोबारलाई प्रोत्साहन गर्दै कर प्रणालीमा सर्वसाधारणको सहभागिता बढाउने उद्देश्यले करदाता प्रोत्साहन पुरस्कार कार्यक्रम सञ्चालन गर्दै आएको छ ।