• Menu

एमसीसीअन्तर्गत बन्ने रातमाटे सबस्टेसन निर्माणका लागि भारतीय कम्पनी टेक्नो इलेक्ट्रिकसँग सम्झौता

नेपाल प्रफिट

२०८१ असार १, शनिबार १४:४२

एमसीसीअन्तर्गत बन्ने रातमाटे सबस्टेसन निर्माणका लागि भारतीय कम्पनी टेक्नो इलेक्ट्रिकसँग सम्झौता

काठमाडौँ । मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए– नेपाल)ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्ट कार्यान्वयनका क्रममा नुवाकोटको बेलकोटगढी नगरपालिका–७ रातमाटेमा ४०० केभी सबस्टेसन निर्माण गर्न भारतको टेक्नो इलेक्ट्रिक एन्ड इन्जिनियरिङ कम्पनीसँग सम्झौता गरेको छ ।

एमसीए नेपालले आज शनिबार प्रेस विज्ञप्ति जारी गर्दै सम्झौताबारे जानकारी दिएको हो । ४०० केभी ग्यास इन्सुलेटेड स्विचगियर (जीआईएस) सबस्टेसन ३९ महिनाभित्र निर्माण गरिनेछ । निर्माण सम्पन्न भएपछि एक हजार मेगाभोल्ट एम्पियर क्षमताको हुने रातमाटे सबस्टेसन नेपालकै ठूला सबस्टेसनमध्ये एउटा हुनेछ ।

पाँच करोड १६ लाख अमेरिकी डलरमा निर्माण गरिने नयाँ रातमाटे सबस्टेसनले लप्सीफेदी र नयाँ हेटौँडा सबस्टेसनहरूबीच विद्युत् प्रसारणका लागि महत्वपूर्ण सेतुका रूपमा काम गर्ने एमसीए– नेपालले जनाएको छ ।

एमसीए– नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र टेक्नो इलेक्ट्रिक एन्ड इन्जिनियरिङ कम्पनीका व्यापार निर्देशक राजीव अग्रवालले एमसीसी र एमसीए– नेपालका पदाधिकारीको उपस्थितिमा सम्झौतामा हस्ताक्षर गरेका छन् ।

एमसीसी नेपाल कम्प्याक्टअन्तर्गत निर्माण गर्न लागिएका तीनवटा सबस्टेसनमध्ये एमसीए नेपालले हस्ताक्षर गरेको यो दोस्रो सबस्टेसन निर्माण सम्झौता हो ।

सम्झौतापछि नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले भने, ‘नेपालको प्रसारण प्रणाली विकास योजना (टीएसडीपीएन) मा नेपालको राष्ट्रिय विद्युत् प्रसारण प्रणालीको महत्वपूर्ण अंगका रूपमा परिकल्पना गरिएको ४०० केभी रातामाटे सबस्टेसन नेपालको ऊर्जा क्षेत्रमा एमसीसी नेपाल कम्प्याक्टको अर्को महत्वपूर्ण उपलब्धि हुनेछ ।’

निर्माण सम्झौतामा हस्ताक्षरपछि मिलेनियम च्यालेन्ज कर्पोरेसनका आवासीय राष्ट्रिय निर्देशक डायन एल. फ्रान्सिस्कोले भने, ‘तीनवटा सबस्टेसनमध्ये दोस्रो रातमाटे सबस्टेसन निर्माण सम्झौतामा हस्ताक्षरबाट एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयनले गति लिएकाले यसलाई एउटा कम्प्याक्ट कार्यान्वयनका सन्दर्भमा ठूलो फड्कोका रूपमा लिन सकिन्छ ।’

आगामी केही वर्षमा एमसीसी नेपाल कम्प्याक्टको प्रगतिले नेपालको बढ्दो ऊर्जा क्षेत्रमा महत्वपूर्ण योगदान पुग्नेमा विश्वस्त रहेको उनले बताए ।

एमसीए– नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले अमेरिकी सरकारको एमसीसी र नेपाल सरकारको आर्थिक सहयोगमा सञ्चालित विद्युत् प्रसारण परियोजनाअन्तर्गत एमसीए नेपालले सबस्टेसन र प्रसारण लाइन निर्माणसम्बन्धी सम्पूर्ण कामलाई तीव्रता दिइरहेको बताए ।

‘दमौलीमा निर्माण गरिने तेस्रो सबस्टेसनको सम्झौता पनि चाँडै नै हुन लागेको छ भने १८ किमी लामो सीमापार प्रसारण लाइन निर्माणका लागिपरेको बोलपत्रको मूल्यांकन भइरहेको छ । हामी प्रसारण लाइनको बाँकी अंश निर्माणका लागि पनि बोलपत्र आह्वान गर्न खरिद प्रक्रियाको अन्तिम चरणमा छौँ,” उनले भने ।

चार सय केभी रातमाटे सबस्टेसनमा जलविद्युत् आयोजना र सबस्टेसनबाट प्राप्त हुने तीन हजार दुई सय मेगावाटभन्दा बढी बिजुली प्रसारण गर्ने क्षमता पनि हुनेछ । नेपालमा औद्योगिक र व्यावसायिक क्रियाकलापमा वृद्धि ल्याउन यस सबस्टेसनमा विभिन्न भोल्टेजस्तरमा उपलब्ध हुने भरपर्दो बिजुली वितरण गरिनेछ ।

एमसीसी नेपाल कम्प्याक्टले विद्युत् प्रसारण आयोजनाअन्तर्गत तीनवटा सबस्टेसनका अतिरिक्त काठमाडौँको लप्सीफेदीदेखि नवलपरासीस्थित नेपाल–भारत सीमासम्म ३१५ किमी प्रसारण लाइन निर्माण गर्न आर्थिक सहयोग गर्दैछ । १८ किमी सीमापार प्रसारण लाइन निर्माणका लागि प्राप्त बोलपत्रहरूको मूल्यांकन भइरहेको छ ।

एमसिए–नेपालले यसको निर्माण सम्झौता साउनमा गर्ने लक्ष्य लिएको छ । त्यस्तै, बाँकी २९७ किमी प्रसारण लाइन निर्माणका लागि यथाशीघ्र यसै वर्ष पुनः बोलपत्र आह्वान गर्ने तयारी भइरहेको छ ।