• Menu

नाइमा एक्स्पो २०२६ मा प्रोटोनका दुई विद्युतीय एसयुभीको दबदबा

नेपाल प्रफिट

२०८३ भदौ १, सोमबार ११:५२

नाइमा एक्स्पो २०२६ मा प्रोटोनका दुई विद्युतीय एसयुभीको दबदबा

काठमाडौं । भृकुटीमण्डपमा आयोजना भइरहेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा प्रोटोनका विद्युतीय गाडीले ग्राहकको ध्यान आकर्षित गरेका छन्। एक्स्पोको ‘बी’ हलमा रहेको स्टलमा हालै सार्वजनिक गरिएको नयाँ ई-मास ५ तथा गत वर्ष सार्वजनिक गरिएको ई-मास ७ प्रदर्शनमा राखिएको छ।

प्रोटोनको स्टलमा गाडी अवलोकन गर्न, विशेषता बुझ्न, मूल्य, स्वामित्व तथा बुकिङका विकल्पबारे जानकारी लिन आउने ग्राहकको उपस्थिति उल्लेख्य रहेको कम्पनीले जनाएको छ।

आधुनिक सहरी जीवनशैलीलाई लक्षित गरी निर्माण गरिएको प्रोटोन ई-मास ५ कम्प्याक्ट विद्युतीय एसयुभी हो। यसमा पछाडि-ह्विल-ड्राइभ प्रणाली, सामान व्यवस्थापनका लागि स्मार्ट भण्डारण सुविधा, १४.६ इन्चको ठूलो प्रदर्शन एकाइ, ३७५ लिटरको सामान राख्ने क्षमता, बाह्य विद्युतीय उपकरण सञ्चालन गर्न मिल्ने सुविधा तथा जडान नियन्त्रण प्रणाली रहेको कम्पनीले जनाएको छ।

प्रोटोन ई-मास ५ नेपालमा ‘प्राइम’ र ‘प्रिमियम’ गरी दुई संस्करणमा उपलब्ध छ। यसको मूल्य क्रमशः ३२ लाख ९९ हजार र ३६ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ।

त्यस्तै, प्रोटोन ई-मास ७ ले ग्राहकलाई ठूलो आकारको विद्युतीय एसयुभीको अनुभव प्रदान गर्ने कम्पनीको भनाइ छ। फराकिलो भित्री भाग, उत्कृष्ट कार्यसम्पादन र लामो दूरीको यात्राका लागि उपयुक्त भएकाले यसले ग्राहकको ध्यान आकर्षित गरेको छ।

ई-मास ७ को ‘प्राइम’ संस्करणमा १६० किलोवाट क्षमताको विद्युतीय मोटर र ४९.५२ किलोवाट घण्टाको ब्याट्री रहेको छ। यसले एकपटक पूर्ण चार्जमा करिब ३४५ किलोमिटरसम्मको दूरी तय गर्न सक्ने कम्पनीले जनाएको छ। यसमा उन्नत चालक सहायता प्रणाली तथा १५.४ इन्चको प्रदर्शन एकाइसमेत उपलब्ध छ।

प्रोटोन ई-मास ७ पनि ‘प्राइम’ र ‘प्रिमियम’ गरी दुई संस्करणमा उपलब्ध छ। यसको मूल्य क्रमशः ४९ लाख ९९ हजार र ५९ लाख ९९ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ।

नेपालमा विद्युतीय गाडीप्रति बढ्दो आकर्षणलाई सम्बोधन गर्दै प्रोटोनका यी दुई गाडीले नेपाली ग्राहकको दैनिक आवश्यकता र जीवनशैलीअनुसार फरक-फरक विकल्प उपलब्ध गराएका छन्। ई-मास ५ कम्प्याक्ट तथा व्यावहारिक सहरी एसयुभीका रूपमा लक्षित छ भने ई-मास ७ पारिवारिक प्रयोग र लामो दूरीको यात्राका लागि उपयुक्त ठूलो विद्युतीय एसयुभीका रूपमा प्रस्तुत गरिएको छ।

नाइमा नेपाल मोबिलिटी एक्स्पोमा प्रोटोनका गाडी अवलोकन गर्ने ग्राहकलाई कम्पनीका प्रतिनिधिले गाडीका विशेषता, मूल्य तथा बुकिङसम्बन्धी जानकारी उपलब्ध गराउँदै आएका छन्। साउन २६ देखि ३१ गतेसम्म सञ्चालन हुने एक्स्पोमा ग्राहकलाई दुवै गाडीको प्रत्यक्ष अनुभव लिन तथा प्रोटोन टोलीसँग आवश्यक जानकारी लिन कम्पनीले आग्रह गरेको छ।

यसैबीच, प्रोटोनले नाइमा एक्स्पोपछि पनि ग्राहकलाई थप उत्कृष्ट अनुभव प्रदान गर्ने उद्देश्यले ‘रेडिफाइनिङ योर एक्सपेरियन्स विथ प्रोटोन ई-मास’ अभियानलाई निरन्तरता दिने जनाएको छ।

नाइमा एक्स्पोमा प्रोटोनको स्टल भ्रमण गर्न छुटेका ग्राहकलाई ‘नाडा अटो शो २०२६’ को हल नम्बर ४ स्थित जी-१५ स्टलमा आएर प्रोटोनका विद्युतीय गाडीको अनुभव लिन कम्पनीले आग्रह गरेको छ। कम्पनीले उक्त प्रदर्शनीमा ग्राहकका लागि थप आकर्षक तथा रोमाञ्चक गतिविधि सार्वजनिक गरिने जनाएको छ।