काठमाडौं । बैंकिङ तथा व्यावसायिक आर्थिक कारोबारमा तीव्र गतिमा बढिरहेको मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या वैशाखमा घटेको छ ।
नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार २०८१ वैशाखसम्ममा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २ करोड ३७ लाख ९७ हजार ६८० पुगेको छ । यो संख्या चैतको तुलनामा २ लाख ५५ हजार ९४९ कम हो ।
चैतमा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २ करोड ४० लाख ५३ हजार ६२९ थियो । त्यस्तै २०८० असारसम्म यो संख्या २ करोड १३ लाख ६३ हजार ९८९ थियो ।
प्रयोगकर्ताको संख्या घटे पनि कारोबार र कारोबार रकममा भने उच्च वृद्धि आएको छ । २०८१ वैशाखमा मात्रै मोबाइल बैंकिङबाट ४ करोड ६ लाख २९ हजार २२१ पटक कारोबार भएको छ ।
यो संख्या चैतको तुलनामा करिब ४५ लाख धेरै हो । चैतमा ३ करोड ५१ लाख ६५ हजार २१२ पटक कारोबार भएको थियो ।
मोबाइल बैंकिङ कारोबार हरेक महिना उच्च दरमा बढिरहेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । २०७९ असारमा २ करोड ५ लाख ६४ हजार पटक मोबाइल बैंकिङ कारोबार भएकोमा २०८० वैशाखमा २ करोड ७४ लाख २४ हजार र २०८० असारमा २ करोड ८९ लाख ३ हजार पटक कारोबार भएको थियो ।
कारोबार संख्यासँगै कारोबार रकममा पनि उच्च वृद्धि भएको छ । २०७९ असारमा १ अर्ब ६३ अर्ब, २०८० वैशाखमा २ खर्ब १० अर्ब, २०८० असारमा २ खर्ब ३३ अर्ब र २०८० चैतमा २ खर्ब ९८ अर्ब रुपैयाँको कारोबार भएकोमा वैशाखमा ३ खर्ब २० अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।