काठमाडौं । राष्ट्रियसभाका सदस्यहरूले खाना पकाउने ग्याँसको अभावमा नागरिकले खाना खानै नपाउने अवस्था भएकाले समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
राष्ट्रियसभाको बिहीबारको बैठकको शून्य समयमा सदस्य विष्णुदेवी पुडासैनीले ग्याँसको अभावले नागरिकले खाना खानै नपाउने अवस्था भएकाले समस्या समाधान गर्न आग्रह गरिन् । सदस्य कृष्णप्रसाद अधिकारीले खाना पकाउने ग्याँसको कृत्रिम अभाव भएकाले कालो बजारी नियन्त्रणका लागि कडा रूपमा अनुगमन गर्न आग्रह गरे ।
सदस्य घनश्याम रिजालले अप्रत्याशित रूपमा पक्राउ गरिएका वरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गरे । सदस्य पदमबहादुर परियारले तनहुँ हाइडो निर्माण गर्दा सेती नदी बहाव परिवर्तन भई समस्या भएकाले समाधान गर्नुपर्नेमा जोड दिए ।
सदस्य रुक्मिणी कोइरालाले पाकिस्तानको हिमाल आरोहण गर्दा निधन भएका निर्मल पुर्जासहित ६ जना नेपाली र अन्य तीन जनाको निधन भएकामा दुःख व्यक्त गरिन् । सदस्य रेनु चन्दले कञ्चनपुरका आरक्ष पीडितले तीन दर्जन आयोग बन्दा पनि समस्या समाधान नभएको भन्दै सरकारको ध्यानाकर्षण गराइन् ।
सदस्य विष्णुकुमारी सापकोटाले काठमाडौं उपत्यकामा घर तथा कोठा भाडा नीति बनाएर घर र डेरा भाडा तोक्न माग गरिन् । सदस्य विष्णुबहादुर विश्वकर्माले कालिकोट जिल्ला नरहरिनाथ गाउँपालिकाका स्थानीयवासीलाई बुधबार यत्तिकै धरपकड गरिएको भन्दै विरोध जनाए ।