काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सिंहदरबारमा सञ्चालनमा ल्याइएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सुलभ मूल्यको खाद्य बिक्री कक्ष उद्घाटन गरेकी छन् ।
उद्योग मन्त्रालय र गृह मन्त्रालयको बीचमा रहेको स्थानमा सञ्चालनमा ल्याइएको बिक्री कक्षबाट उपभोक्ताले दैनिक उपभोग्य खाद्य सामग्री सुलभ मूल्यमा खरिद गर्न सक्ने व्यवस्था गरिएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीको वार्षिकोत्सवको अवसर पारेर सञ्चालनमा ल्याइएको बिक्री कक्षमा करिब १२४ प्रकारका खाद्य तथा दैनिक उपभोग्य सामग्री बिक्रीका लागि राखिएको छ ।
बजारमा खाद्य वस्तुको मूल्यमा हुने अस्वाभाविक वृद्धि नियन्त्रण गर्दै उपभोक्तामाथिको आर्थिक भार कम गर्ने उद्देश्यले बिक्री कक्ष सञ्चालनमा ल्याइएको हो । सरकारी स्वामित्वको कम्पनीमार्फत उपभोक्तालाई सहज र तुलनात्मक रूपमा सस्तो मूल्यमा आवश्यक खाद्य सामग्री उपलब्ध गराउने लक्ष्य राखिएको छ ।
बिक्री कक्षको उद्घाटन गर्दै मन्त्री यादवले उपभोक्तालाई सहज, गुणस्तरीय र सुलभ मूल्यमा खाद्य सामग्री उपलब्ध गराउने विषयलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताइन् ।
सिंहदरबारको केन्द्रमै बिक्री कक्ष सञ्चालनमा आएपछि मन्त्रालयमा आउने कर्मचारी, सेवाग्राही तथा आसपासका उपभोक्ताले समेत दैनिक आवश्यक खाद्य सामग्री सहज रूपमा खरिद गर्न सक्ने अपेक्षा गरिएको छ ।
सरकारी स्वामित्वको कम्पनीबाट सञ्चालन गरिएको बिक्री कक्षले बजारमा मूल्य नियन्त्रण तथा उपभोक्तालाई राहत दिने सरकारी प्रयासलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ ।