काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बागमती प्रदेशको ललितपुरमा आयोजना गरेको दुई दिने श्रमाधान रोजगार मेलामा १३ हजार ९७८ जनाले रोजगारीको लागि आवेदन दिएका छन् ।
मेलामा रोजगारदाताबाट एक हजार ५०५ श्रमिकको माग भएको थियो । मंगलबार र बुधबार चलेको मेलाको करिब ५ हजारले अवलोकन गरेका छन् । रोजगारीका लागि अनलाइन आवेदनलाई पनि गणना गरिएको छ भने एक जनाले चारवटा कम्पनीसम्ममा आवेदन दिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
मेलाको समापन कार्यक्रममा पाटन बहुमुखी क्याम्पसका प्रमुख डा. लक्ष्मणसिंह कुँवरले नेपाली युवाले अझै पनि श्रमको महत्व नबुझेको बताए । विदेशमा गएर जुनसुकै श्रम गर्न रुचाउने नेपाली श्रमिकले नेपालमा भने त्यही रोजगारीमा गर्न नचाहेका कारण पनि बेरोजगारी बढेको उनको तर्क छ ।
तर, मन्त्रालयले गरेको यस्तो मेलाले रोजगारीको महत्वलाई बुझाउने उनले बताए । मेलाले रोजगारदाता र श्रमिकको गुनासोलाई सम्बोधन गर्न सक्ने क्याम्पस प्रमुख कुँवरको विश्वास छ ।
‘यता रोजगारदाता श्रमिक पाइएन भन्छन्, उता श्रमिक रोजगारी पाइएन भन्छन्, यस्ता मेलामा दुवै पक्षलाई एकै स्थानमा भेला गराउँदा समस्या सम्बोधन हुनेछ,’ उनले भने ।
नेपाल घरेलु तथा साना उद्योग महासंघका वरिष्ठ उपाध्यक्ष सूर्यबहादुर कँडेलले रोजगार मेलाले नेपालमै रोजगारीको अवसर रहेको सकारात्मक सन्देश दिएको बताए । त्यसैले यस्तो मेलालाई जिल्ला र पालिका तहसम्म लैजानुपर्ने उनको सुझाव छ ।
कार्यक्रमको समापन गर्दै मन्त्रालयका उपसचिव एवं बागमती प्रदेशको रोजगार मेलाका संयोजक डम्बरबहादुर सुनुवारले मेला सञ्चालनमा गर्नमा सहयोग गर्ने सबैमा आभार व्यक्त गरे ।
जेठ १७ गते कोशी प्रदेशको विराटनगरबाट सुरु भएको श्रमाधान रोजगार मेला बागमती प्रदेशको ललितपुरमा आज सम्पन्न भएको छ । मेला प्रत्येक प्रदेशमा दुई/दुई दिन सञ्चालन भएको थियो ।