
बाजुरा । सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य बडीमालिका मन्दिरमा यस वर्षको मेला तथा पूजा भदौ १ गतेदेखि सुरु हुने भएको छ । दर्शनार्थीको बढ्दो चापलाई ध्यानमा राख्दै मुख्य पूजाको दिनअघि नै मेला सुरु गर्ने निर्णय गरिएको हो ।
जिल्लामा भएको सर्वपक्षीय बैठकले एकैदिन अत्यधिक भीड हुने भएकाले भदौ १ गतेदेखि नै पूजा सुरु गर्ने निर्णय गरेको जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकायाले जानकारी दिए ।
मन्दिरका पुजारी नेत्र पाध्यायका अनुसार बडीमालिकामा हरेक वर्ष जनैपूर्णिमाको अघिल्लो दिन अर्थात् साउन शुक्ल चतुर्दशीका दिन मुख्य पूजा हुँदै आएको छ । यस वर्ष भदौ १२ गते जनैपूर्णिमा परेकाले त्यसको अघिल्लो दिन बडीमालिकामा मुख्य पूजा हुनेछ ।
उनका अनुसार गत वर्ष बडीमालिका मन्दिरमा ४५ हजारभन्दा बढी भक्तजनले दर्शन गरेका थिए । हरेक वर्ष देशका विभिन्न जिल्लाका साथै छिमेकी मुलुक भारतबाट समेत दर्शनार्थी आउने गरेका छन् । बाजुरा, डोटी र जुम्लाबाट पूजा सामग्रीसहित सरकारी टोलीसमेत बडीमालिका पुग्ने परम्परा छ ।
यस वर्ष दर्शनार्थीको सङ्ख्या थप बढ्ने अनुमान गरिएको छ । गत वर्ष नेपाली सेनाले प्यागोडा शैलीमा बडीमालिका माताको नयाँ मन्दिर निर्माण गरेपछि यसको आकर्षण थप बढेको स्थानीयको भनाइ छ ।
बडीमालिका नगरपालिका प्रमुख अमरबहादुर खड्काले पूजा तथा मेला व्यवस्थापनका लागि तयारी सुरु गरिएको जानकारी दिए । जिल्ला प्रशासन, स्थानीय तह र सुरक्षा निकायले तयारी तीव्र पारेको उनले बताए ।
मेला सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन १४ बुँदे निर्णय गरिएको उनले जानकारी दिए । मन्दिर जाने मार्गमा संकेत चिह्न, सूचनापाटी तथा जानकारीमूलक बोर्ड राख्ने, धार्मिक क्षेत्रको पवित्रता कायम गर्न मदिरा, लागुपदार्थ र मासुजन्य वस्तु निषेध गर्ने निर्णय भएको छ ।
निमित्त जिल्ला समन्वय अधिकारी दिपेन्द्र पाण्डेका अनुसार बडीमालिका पुग्ने दर्शनार्थीलाई लेक लागेमा, बिरामी परेमा वा अन्य कारणले आपत्कालीन उद्धार आवश्यक परे जिल्ला प्रशासन, सुरक्षा निकाय र स्थानीय तहले तत्काल उद्धार गर्ने व्यवस्था मिलाइएको छ ।
समुद्री सतहबाट करिब चार हजार २०० मिटर उचाइमा रहेको बडीमालिका क्षेत्र धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको सङ्गमका रूपमा परिचित छ । स्वास्थ्य व्यवस्थापनका लागि स्थानीय तहले जिल्ला अस्पताल तथा स्वास्थ्य कार्यालयसँग समन्वय गर्ने र स्वास्थ्यकर्मीसँगको समन्वयमा बाँकी व्यवस्थापनको नेतृत्व नेपाली सेनाले गर्ने पाण्डेले बताए ।
यस वर्ष मेला सुरु हुनुअघि नै सञ्चार सम्पर्क सहज बनाउन दूरसञ्चार टावर सञ्चालनमा ल्याउने तयारीसमेत भइरहेको छ । मौसम खराबीका कारण सामग्री ढुवानीमा भने केही समस्या भइरहेको जनाइएको छ ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal