• Menu

नाईमा अटो एक्स्पोमा डोङफेङका दुई नयाँ बस सार्वजनिक, सुरुवाती मूल्य १ करोड १४ लाख ५० हजार

नेपाल प्रफिट

२०८३ साउन २७, बुधबार १६:०७

नाईमा अटो एक्स्पोमा डोङफेङका दुई नयाँ बस सार्वजनिक, सुरुवाती मूल्य १ करोड १४ लाख ५० हजार

काठमाडौं । हिमालयन अर्गनाइजेसनअन्तर्गत रहेको आयाम इन्टरकन्टिनेन्टलले चीनको बहुप्रतिष्ठित डोङफेङ कम्पनीद्वारा उत्पादित दुईवटा बस काठमाडौंको भृकुटीमण्डपमा आयोजना भइरहेको नाईमा अटो एक्स्पोमा सार्वजनिक गरेको छ ।

कम्पनीले ७.२ मिटरका २५ सिट र २७ सिट क्षमताका बस सार्वजनिक गरेको हो । यी बसको मूल्य १ करोड १४ लाख ५० हजार रुपैयाँदेखि सुरु हुने कम्पनीले जनाएको छ ।

नाईमा अटो एक्स्पोमा बुकिङ गर्ने पहिलो ५० ग्राहकलाई ५ लाख रुपैयाँ विशेष छुटको व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

डोङफेङ मोटर कर्पोरेसन सन् १९६९ मा स्थापना भएको चीन सरकारको स्वामित्वमा रहेको प्रमुख सवारी उत्पादक कम्पनी हो । कम्पनीले यात्रुवाहक सवारी, व्यावसायिक सवारी, बस, ट्रक, विद्युतीय सवारी तथा विभिन्न सवारीसाधनका पार्टपुर्जा उत्पादन गर्दै आएको छ ।

पाँच दशकभन्दा लामो अनुभव रहेको डोङफेङले गुणस्तर, विश्वसनीयता, सुरक्षा र नवीन प्रविधिका कारण विश्व बजारमा आफ्नो पहिचान बनाएको कम्पनीले जनाएको छ । डोङफेङका सवारीसाधन एसिया, युरोप, अफ्रिका, मध्यपूर्व तथा दक्षिण अमेरिकालगायत विश्वका विभिन्न देशमा सञ्चालनमा छन् । कम्पनीका उत्पादन १०० भन्दा बढी देशमा निर्यात हुँदै आएका छन् ।

नेपालमा पनि डोङफेङ ब्रान्डका ट्रक, कार तथा माइक्रोबस बिक्री हुँदै आएका छन् । नयाँ बसले नेपाली बजारमा थप नयाँ पहुँच पुर्‍याउने अपेक्षा गरिएको छ ।

हिमालयन अर्गनाइजेशनअन्तर्गतका कम्पनीहरूले यसअघि भारतको फोर्स मोटर्स तथा चीनको एसएआईसी समूहअन्तर्गतको म्याक्सस कम्पनीका सवारीसाधनको नेपालका लागि आधिकारिक विक्रेताका रूपमा काम गर्दै आएका छन् ।

नेपाल सरकारले ठूला विद्युतीय बसलाई प्राथमिकतामा राख्ने नीति अघि बढाइरहेको तथा नेपाली ग्राहकबाट पनि ठूला विद्युतीय बसको माग बढ्दै गएको अवस्थालाई ध्यानमा राखेर डोङफेङका बस नेपाल भित्र्याइएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार ग्राहकको मागअनुसार बसमा थप सुविधा जडान गर्न सकिनेछ । हाल सार्वजनिक गरिएको बसमा वातानुकूलन सुविधा नभए पनि ग्राहकको मागअनुसार थप सुविधा जडान गर्न सकिनेछ । विलासी सिट पनि ग्राहकको मागअनुसार राख्न सकिने कम्पनीले जनाएको छ ।

बसमा प्रवेशद्वार ग्राहकको मागअनुसार एक वा दुईवटा राख्न सकिनेछ । दुईवटा प्रवेशद्वार राख्दा दुई सिट घट्ने कम्पनीले जनाएको छ ।

बसमा पाँच वर्ष वा दुई लाख किलोमिटरसम्मको वारेन्टी उपलब्ध गराइएको छ । ग्राहकले थप तीन वर्षको विस्तारित वारेन्टीसमेत खरिद गर्न सक्नेछन् ।

कम्पनीले निकट भविष्यमा यही ब्रान्डका ७.२ मिटरका विद्यालय बस, ९ मिटरका ३८ सिट क्षमताका बस र १२ मिटरका ५२ सिट क्षमताका बस पनि नेपाल ल्याउने जानकारी दिएको छ । ती बसको मूल्य तथा अन्य विवरण पछि सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार नेपालमा उपलब्ध अन्य कम्पनीका बसको तुलनामा आगामी दिनमा सार्वजनिक गरिने बस प्रतिस्पर्धी मूल्यमा ल्याइनेछ । साथै, एक्स्पोमा बुकिङ गर्ने ग्राहकलाई विशेष छुटको योजना पनि ल्याइने कम्पनीले जनाएको छ ।

बसको बिक्रीपछिको सेवा तथा आवश्यक पार्टपुर्जा हिमालयन अर्गनाइजेशनअन्तर्गतका विभिन्न कम्पनीका नेपालका विभिन्न सहरमा रहेका शाखा तथा डिलरमार्फत उपलब्ध गराइने कम्पनीले जनाएको छ ।