• Menu

अशक्तका लागि घरमै पुग्छ नागरिकता

नेपाल प्रफिट

२०८३ साउन २४, १९:४५

अशक्तका लागि घरमै पुग्छ नागरिकता

बझाङ । सानै उमेरमा बाआमाको स्नेही काख गुमाएका बझाङ छविसपाथिभेरा गाउँपालिका–१ का विशु जैसीको बाल्यकाल कहिल्यै सामान्य रहेन । सहारा दिने मान्छे नभएपछि छिमेकी र आफन्तको लहैलहैमा लागेर उनी सानै उमेरमा भारत पसे ।

परदेशको कठोर जीवन, कहिले घरेलु कामदार त कहिले स–सानो मजदुरी गर्दै उनले आफ्नो जीवनको सबैभन्दा उर्जाशील समय झण्डै पाँच दशक अर्काको घर र भान्छामा बिताए । सामान्य मानिसका लागि ५० वर्षको समय कसरी बित्छ, पत्तै हुँदैन । तर, विशुको लागि त्यो प्रत्येक दिन र प्रत्येक वर्ष जीवनसँगको कठोर संघर्ष थियो ।

उमेर ढल्कँदै गएपछि कोही आफन्तको सहयोगमा ५१ वर्षको उमेरमा उनी आफ्नो जन्मथलो बझाङ फर्किए । गाउँकै आफन्तको सल्लाह र आग्रहमा उनले बिहेबारी गरे, नयाँ जीवन सुरु गर्ने सपना देखे । ५५ वर्षको उमेरमा उनी बुबा बने ।

तर, भनिन्छ नि ! १२ वर्षमा त खोला पनि फर्कन्छ रे ! विशुको जीवनमा भने आधा शताब्दी बितिसक्दा पनि दुःखी दिनहरूको शृंखला रोकिने नामै थिएन । नियतिले उनलाई फेरि अर्को कठोर परीषामा खाल्डोमा खसाल्यो ।

बुढेसकालमा जन्मिएको छोरा देवीचन्द्र जोशी १८ वर्षको कलिलो उमेर पुग्दा नपुग्दै पक्षघात (प्यारालाइसिस) को सिकार भए । उनी माध्यमिक विद्यालय पढ्दै गर्दा अचानक थला परे र उनको दुवै खुट्टाले काम गर्न छाडे । आज १८ वर्षीय देवीचन्द्र पूर्ण रूपमा ओछ्यान परेका छन् ।

आफैँ वृद्ध भइसकेका विशु र उनकी श्रीमती जयलक्ष्मी जैसीको सामाजिक सुरक्षा भत्ता (वृद्धभत्ता) ले चार जनाको परिवार जसोतसो पालिरहेको छ । कान्छा छोरा अझै साना छन् । तर, यही उमेरमै उनलाई सिंगो परिवारको सहारा बन्नुपर्ने गह्रौँ जिम्मेवारी आएको छ । घरको नाममा एउटा सानो टहराबाहेक विशुको परिवारसँग कत्ति पनि उब्जाउ जमिन छैन ।

‘अलिअलि जमिन भए पनि काम गर्ने मान्छे घरमा कोही छैन । हामी आफैँ नसक्ने भइसक्यौँ । ठूलो छोराको अवस्था ओछ्यानमै सीमित छ । कान्छा छोराको बिहान–बेलुका पानी र दाउरा बोक्दैमा समय बित्छ । दिउँसो स्कुल जान्छ । उसको ऊर्जा र दैनिकी यही झुपडीमै झुलिरहेको छ,’ विशुले आँखाभरि आँसु पार्दै सुनाए ।

यस्तै सहाराविहीन, आर्थिक रूपमा विपन्न र शारीरिक रूपमा असक्त परिवारको समाचार पाएपछि गत मंसिरको एक शनिबार जिल्ला प्रशासन कार्यालय बझाङको टोलीले विशेष पहल गर्‍यो । शनिबारको सार्वजनिक बिदाको दिन पारेर जिल्ला प्रशासन बझाङको टोली विशु जैसीको घरतर्फ लाग्यो ।

उकालो, ओरालो र अप्ठ्यारो पहाडी बाटो छिचोल्दै नागरिकता तथा राष्ट्रिय परिचयपत्र टोली बायोमेट्रिक मेसिन र आवश्यक कागजात बोकेर विशुको टहरामै पुग्यो । टोलीले घरमै पुगेर १८ वर्षीय देवीचन्द्रको सबै कानुनी र प्राविधिक प्रक्रिया पूरा गरी नागरिकता र राष्ट्रिय परिचयपत्र तयार पारेर हस्तान्तरण गर्‍यो ।

टोलीको नेतृत्व गर्दै पुगेकी सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले नागरिकता मात्र दिइनन्, राहतका सामाग्रीहरू समेत हस्तान्तरण गरिन् । देवीचन्द्रलाई केही राहत र अपांगता भत्ता उपलब्ध गराउने, बेसहारा परिवारलाई राज्यको तर्फबाट सम्भव भएसम्मको सहयोग गर्ने वचनबद्धता समेत उनले जनाइन् । बझाङ जिल्ला प्रशासनले अशक्त र ओछ्यान परेका व्यक्तिहरूलाई त्यसयता निरन्तर रूपमा घरमै गएर सेवा दिने अभियानलाई गति दिइरहेको छ ।

दर्शनको ओछ्यानमै राज्यको उपस्थिति

छविसपाथिभेरा गाउँपालिकाकै वडा नम्बर ७ का १८ वर्षीय दर्शन बोहराको कथा पनि उस्तै मार्मिक छ । खोरी गाउँका चाखुडी र कृष्णबहादुर बोहराका कान्छा छोरा दर्शन जन्मजात पूर्ण रूपमा शारीरिक रूपमा अशक्त छन् ।

शिक्षित र मध्यमवर्गीय परिवारमा जन्मिएका दर्शनको उपचारका लागि परिवारले आफ्नो सर्वस्व सक्यो । तर, धेरै अस्पताल र डाक्टरकहाँ धाउँदा पनि उनलाई सञ्चो भएन । अन्ततः उनी घरकै ओछ्यानमा थन्किन बाध्य भए ।

आज १८ वर्ष पुगिसक्दा पनि दर्शन न त बोल्न सक्छन्, न हिँडडुल गर्न, न त आफैँ बस्न नै । सदरमुकाम चैनपुर पुगेर नागरिकता बनाउने र राज्यले दिने अपाङ्गता भत्ताको प्रक्रियामा जाने सम्भावना उनीहरूका लागि असम्भवजस्तै थियो ।

सामाजिक सुरक्षा भत्ता पाउने उमेर र योग्यता पुगेर पनि नागरिकता अभावमा उनी बञ्चित भएको जानकारी पाएपछि सहायक प्रजिअ जोशीको टोली फेरि दर्शनकै घर खोरी गाउँ पुग्यो ।

टोलीले दर्शनको ओछ्यानमै पुगेर आवश्यक प्रक्रिया पूरा गरी राष्ट्रिय परिचयपत्र र नागरिकता हस्तान्तरण गर्‍यो । गाउँमै र घरको आँगनमै सरकारी टोली पुगेर नागरिकता बनाइदिएपछि विकट खोरी गाउँका स्थानीय र परिवारका सदस्यहरूमा खुसीको ठेगान रहेन ।

‘छोराको जीवन जीवनभर यस्तै परिचयविहीन रहन्छ कि भन्ने ठूलो चिन्ता थियो,’ दर्शनका बुवा कृष्णबहादुरले भावुक हुँदै भने, ‘उसलाई डोकोमा वा बोकेर जिल्ला सदरमुकामसम्म पुर्‍याएर नागरिकता दिलाउने कुनै सम्भावना नै थिएन । आज प्रशासन आफैँ घरमा आएर नागरिकता दियो, दर्शन पनि यो देशको आधिकारिक नागरिकको सूचीमा पुगेको छ । अब उसलाई सामाजिक सुरक्षा भत्ताको प्रक्रियामा लैजान बाटो खुल्यो ।’

जिल्ला प्रशासन कार्यालय बझाङले सञ्चालन गरेको यो अभियान केवल युवा वा बालबालिकामा मात्र सीमित छैन । नागरिकमैत्री सेवा प्रवाहलाई निरन्तरता दिँदै आएको प्रशासनले गत शनिबार दुर्गाथली गाउँपालिका–२ की ७३ वर्षीया पम्मादेवी भण्डारीलाई घरमै पुगेर सेवा दियो ।

पम्मादेवी विगत चार वर्षदेखि पक्षघात -प्यारालाइसिस) का कारण पूर्ण रूपमा ओछ्यान परेकी छिन् । हिँडडुल गर्न नसक्ने र सदरमुकामसम्म जान असम्भव भएकी उनलाई प्रशासनको टोलीले घरमै पुगेर नागरिकता र राष्ट्रिय परिचयपत्र प्रदान ग¥यो । ७३ वर्षको उमेरमा आफ्नै आँगनमा सरकारी टोलीबाट नागरिकता पाउँदा पम्मादेवीको अनुहारमा खुसी र सन्तोष स्पष्ट देखिन्थ्यो ।

बझाङमा भौगोलिक बनावट आफैँमा ठूलो चुनौती हो । गाउँबाट सदरमुकाम चैनपुरसम्म पुग्न कतिपय ठाउँबाट दिनभरिको पैदल यात्रा वा महँगो गाडी भाडा तिर्नुपर्छ । यस्तो अवस्थामा पूर्ण अशक्त, ओछ्यान परेका र ज्येष्ठ नागरिकहरूका लागि नागरिकता बनाउनु असम्भव प्रायः बन्ने गर्छ ।

राज्यबाट प्राप्त हुने आधारभूत सेवा, सामाजिक सुरक्षा र अधिकारबाट कुनै पनि नागरिक वञ्चित हुन नपरोस् भन्ने सोचका साथ जिल्लाभर नै अशक्त नागरिकलाई घरमै सेवा दिने अभियान चलाइएको सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशी बताउँछिन् ।

‘सरकारी अड्डामा नागरिक आउने परम्परागत शैलीलाई बदलेर जहाँ नागरिकलाई साँच्चिकै समस्या छ, त्यहाँ प्रशासन पुग्नुपर्छ भन्ने हाम्रो मान्यता हो,’ जोशीले भनिन्, ‘विशेषगरी अशक्त, हिँडडुल गर्न नसक्ने र विपन्न नागरिकहरूलाई घरैमा गएर सेवा दिँदा राज्यप्रति नागरिकको विश्वास र अपनत्व निकै बढ्छ । हामीले बिदाको दिन पारेर भए पनि यो सेवालाई निरन्तरता दिइरहेका छौँ ।’

भूमिराज पिठातोली (रासस)