• Menu

भक्ताखोला डाइभर्सन निर्माण भएसँगै राप्ती सोनारीका आधा दर्जन गाउँको डुबान र कटानको त्रास हट्यो

नेपाल प्रफिट

२०८३ साउन २४, १७:५०

भक्ताखोला डाइभर्सन निर्माण भएसँगै राप्ती सोनारीका आधा दर्जन गाउँको डुबान र कटानको त्रास हट्यो

बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिका-९ का बासिन्दालाई हरेक वर्ष सास्ती दिँदै आएको भक्ताखोलालाई नयाँ निकास दिएपछि डुबानको त्रास हटेको छ ।

‘असार-साउन सुरु हुनासाथ भक्ताखोलामा आउने बाढीले उठिबास लगाउने चिन्ताले सताउँथ्यो । तर, यो वर्षको वर्षायाम भने ढकेरीबासीका लागि फरक हुने भएको छ,’ ढकेरी बजार व्यवस्थापन समितिका अध्यक्ष विश्वराज खनालले भने, ‘दशकौँदेखि स्थानीयलाई सास्ती दिँदै आएको भक्ताखोलालाई अन्ततः इञ्जिनियरिङ र बलियो स्थानीय इच्छाशक्तिको बलमा बस्तीभन्दा टाढा, जंगल क्षेत्रमा थुनेर नयाँ निकास दिएपछि डुबानको त्रास हटेको छ ।’

राप्ती सोनारी-९ का गुरुवागाउँ, खड्काटोल, पहाडीपूर्वा, थारुगाउँ, ढकेरी र पम्पबजारलाई प्रत्येक वर्ष कटान र डुबान गर्दै आएको भक्ताखोलाले अब समस्या नदिने बताउँदै खनालले दशकौँदेखिको स्थानीयवासीको चाहना र आवश्यकता अहिले पूरा भएको उल्लेख गरे ।

विगतका वर्षहरूमा गाउँ पसेर उपद्रो मच्चाउने बाढीलाई गाउँ पस्नै नदिन बस्तीभन्दा धेरै पर जंगल क्षेत्रबाट तटबन्धन गरेर मोडिएको राप्ती सोनारी गाउँपालिका-९ का वडाध्यक्ष सोहनलाल थारुले बताए ।

‘प्रत्येक वर्षायाममा ठूलो पानी पर्नासाथ भक्ताखोलामा आउने बाढीले वडाका गाउँबस्तीमा डुबान तथा कटान गर्ने समस्या थियो । यो समस्या समाधान गर्न हामीले खोलालाई तटबन्धन गर्न सफल भएका छौँ,’ वडाध्यक्ष थारुले भने, ‘अब वर्षायाममा भक्ताखोलाको बाढीले गाउँबस्ती डुबानमा पर्ने समस्या पूर्ण रूपमा हटेको छ ।’

लुम्बिनी प्रदेश सरकारको ५५ लाख लागतमा गुरुवागाउँ नजिकै रहेको आँपखोली सामुदायिक वनस्थित चुरे पहाडलाई कटान गरी भक्ताखोलालाई वन क्षेत्रबाटै वसन्ता खोलामा मिसाइएको छ । यो तटबन्धनपछि अब वर्षायाममा भक्ताखोला र चुके नाला हुँदै आउने बाढी बस्तीभन्दा बाहिरै वसन्ता खोला भएर बग्ने छ, जसका कारण आधा दर्जन गाउँ सुरक्षित भएका छन् ।

राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले भक्ताखोलाले दिँदै आएको दुःखबाट अब जनताले सधैँका लागि छुटकारा पाएका दाबी गरे । भक्ताखोलाको यो सफल प्रयोग गाउँपालिकाका अन्य वडाहरूका लागिसमेत एउटा ढाँचा बन्न सक्ने उनले बताए ।

चुरेको फेदीमा रहेका बस्तीका लागि भक्ताखोलाको यो डाइभर्सन तथा तटबन्धन आयोजना विकास र विपद् व्यवस्थापनको एउटा सकारात्मक उदाहरण बनेको उनले उल्लेख गरे ।

‘राप्ती सोनारी गाउँपालिकामा भक्ताखोलाजस्तै दर्जनौँ खहरेखोलाहरू छन्, जसले हरेक वर्ष गाउँबस्ती डुबानमा पार्ने गरेका छन्,’ अध्यक्ष पौडेलले भने, ‘ती सबै खहरेखोलाको दीर्घकालीन समाधानका लागिसमेत हामीले पहल सुरु गरिसकेका छौँ ।’