काठमाडौं । सेयर बजार परिसूचक नेप्से आज मंगलबार ३३ अंकले बढेको छ । नेप्सेमा सूचीकृत सबै समूहमा हरियाली छाएपछि समग्र बजार परिसूचक ३३.१५ अंकले बढेर २११५.२४ अंकमा उक्लिएको हो ।
नेप्से सोमबार पनि ८.९ अंकले बढेको थियो । आज नेप्सेसँगै कारोबार रकममा पनि उत्साह कायमै रहेको छ । आइतबार बजार सामान्य घटे पनि ५ अर्ब १५ करोडको सेयर कारोबार भएको थियो । त्यस्तै सोमबार ५ अर्ब ४७ करोडको कारोबार भएकोमा आज ५ अर्ब ५३ करोडको सेयर किनबेच भएको छ ।
आज पाँचवटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । बरुण हाइड्रोपावर, ग्रिन भेन्चर्स, कुथेली बुखरी स्मल हाइड्रोपावर, भगवती हाइड्रोपावर र अप्पर हेवाखोलाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
आज १९८ कम्पनीका लगानीकर्ताले कमाएका छन् भने ४५ कम्पनीको सेयर मूल्य घटेको छ । आज एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको सर्वाधिक ३६ करोड ३० लाख रुपैयाँको सेयर किनबेच भएको छ ।