कैलाली । सुदूरपश्चिम प्रदेशको धनगढीमा आइतबारदेखि सुरु भएको श्रमाधान रोजगार मेला सम्पन्न भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा आयोजित रोजगार मेलामा ११ सय ३३ जनाले रोजगारी पाएका छन् ।
मेलामा ४ हजार १६६ जनाले रोजगारीका लागि आवेदन दिएका छन् । मेलाको १० हजारभन्दा बढीले अवलोकन गरेको मन्त्रालयले जनाएको छ । दुई दिने मेलामा रोजगार खोज्ने युवाको बाक्लो भीड लागेको थियो ।
समापन कार्यक्रममा धनगढी उपमहानगरपालिकाकी उपप्रमुख नन्दकला रानाले नेपालमा रोजगारीको ठूलो समस्या रहेकाले मेलाले त्यसको समाधान गर्ने अपेक्षा रहेको बताइन् । युवाहरु बिदेसिने क्रम बढ्दै गएकाले स्वदेशमै रोजगारीका अवसर जुटाउन आवश्यक रहेको उनको भनाइ छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव वसन्तबहादुर बोहराले रोजगारदाता र रोजगार खोज्नेहरुलाई एकै थलोमा भेला गराउने उद्देश्यले श्रमाधान रोजगार मेला आयोजना गरेको बताए ।
‘हाम्रो श्रम बजारमा रोजगारी कहाँ छ, कसरी खोज्ने त्यो सबैलाई थाहा छैन,’ उनले भने, ‘आन्तरिक रोजगार तथा वैदेशिक रोजगारीसम्बन्धी सबै जानकारी एउटै थलोमा पाउनुले अझै मेला प्रभावकारी भएको छ ।’
सुदूरपश्चिम प्रदेश श्रम कार्यालयका प्रमुख जनक उखेडाले रोजगार मेलाले यहाँका युवाको रोजगारसम्बन्धी केही समस्या समाधान हुने अपेक्षा गरिएको बताए । समापन कार्यक्रममा मेला अवधिमा जानकारीमूलक स्टल राख्ने रोजदारदाता, सहजकर्ता र सहआयोजक संघसंस्थालाई सम्मानपत्र वितरण गरिएको छ ।