• Menu

नेपाल-कोरिया सम्बन्ध विस्तारमा परराष्ट्रमन्त्री खनालको जोड, बिदाइ भेटमा इपीएस प्रणालीको प्रशंसा

नेपाल प्रफिट

२०८३ साउन २०, बुधबार १४:४२

नेपाल-कोरिया सम्बन्ध विस्तारमा परराष्ट्रमन्त्री खनालको जोड, बिदाइ भेटमा इपीएस प्रणालीको प्रशंसा

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र दक्षिण कोरियाबीच हवाई सम्पर्क, व्यापार, पर्यटन, शिक्षा, प्रविधि तथा जनस्तरको सम्बन्धलाई अझ विस्तार गर्नुपर्नेमा जोड दिएका छन् ।

आफ्नो तीनवर्षे कार्यकाल पूरा गरी स्वदेश फर्कन लागेका उक्त मुलुकका राजदूत पार्क तेयोङसँग बुधबार आफ्नै कार्यकक्षमा भएको बिदाइ भेटमा उनले दुई देशबीच व्यापार, स्वास्थ्य र शिक्षालाई सहकार्यका प्राथमिक क्षेत्रका रूपमा अघि बढाउनुपर्नेमा जोड दिएको मन्त्री खनालको निजी सचिवालयले जनाएको छ ।

परराष्ट्रमन्त्री खनालले लगानीका लागि नयाँ-नयाँ क्षेत्र पहिचान गर्न आवश्यक भएको बताउँदै ऊर्जा र उत्पादन क्षेत्रसँगै पारस्परिक सहकार्यका अन्य क्षेत्रमा पनि साझेदारी विस्तार गर्नुपर्ने धारणा व्यक्त गरे ।

उनले शिक्षा क्षेत्रमा दुई देशका अनुसन्धान संस्थाबीच सहकार्य अभिवृद्धि गर्नुपर्नेमा पनि जोड दिँदै दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपीएस) नेपाल-कोरिया सम्बन्धको नमूना बनेको बताए । यसबाट दुई देशका जनताबीचको सम्बन्धलाई अझ सुदृढ बनेको परराष्ट्रमन्त्रीको कथन थियो ।

राजदूत पार्कले नेपालमा सेवा गर्ने अवसर पाएकोमा खुसी व्यक्त गर्दै आफू जहाँ रहे पनि नेपाललाई कहिल्यै नबिर्सने बताए । उनले नेपालको सांस्कृतिक विविधताको प्रशंसा गरे ।