काठमाडौं । ग्लोबल आइएमई बैंकले विभिन्न स्वचालित डिजिटल बैंकिङ सेवाहरु प्रदान गर्ने गरी छुट्टै लाउन्ज ‘डिजिटल युनिभर्स’ सञ्चालनमा ल्याएको छ ।
आइतबार आयोजित एक विशेष कार्यक्रमबीच नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष एवं ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले चेक जम्मा गर्ने मेसिन, नगद जम्मा गर्ने मेसिन र एटीएम मेसिन जस्ता अत्याधुनिक मेसिन रहेको डिजिटल युनिभर्सको उद्घाटन गरको हुन् ।
उद्घाटन समारोहमा अध्यक्ष ढकालले भने, ‘डिजिटल युनिभर्सको सञ्चालनले डिजिटल बैंकिङलाई प्रवर्धन गर्दै आम जनतालाई डिजिटल कारोबार गर्न प्रोत्साहन गर्नुका साथै ग्राहकलाई सरल र सहज बैंकिङ सेवा प्रदान गर्न सहयोग पुग्नेछ ।’
यो पहल ग्लोबल आइएमई बैंकका ग्राहकलाई छिटो र सरल बैंकिङ सेवा प्रदान गर्ने निरन्तरको प्रयासको एउटा हिस्सा भएको उनको भनाइ छ । ‘हामीले आज लन्च गरेको डिजिटल युनिभर्सको उद्देश्य अहिले विश्वव्यापी रुपमा भइरहेको डिजिटल बैंकिङतर्फको यात्रासँग मेल खान्छ,’ उनले भने ।
आजको युगमा डिजिटल बैंकिङको महत्व बढ्दै गएको छ । डिजिटल बैंकिङले ग्राहकलाई आफ्नो अनुकूल समयमा सुरक्षित र सहज बैंकिङ सेवा उपलब्ध गराउँछ । ग्लोबल आइएमई बैंकको डिजिटल युनिभर्सले यस डिजिटल रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।
यस्ता नवीन बैंकिङ प्रविधिहरु अंगालेर बैंकले ग्राहकको बदलिँदो बैंकिङ आवश्यकतामात्र पूरा नगरेको डिजिटल नेपाल निर्माणका लागि आधार खडा गर्न उल्लेख्य सहयोग पुर्याएको जारी विज्ञप्तिमा उल्लेख छ ।
कार्यक्रममा बैंकका सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृतलगायत बैंकका उच्च व्यवस्थापनका कर्मचारीको उपस्थिति थियो ।