
चितवन । नेपाल विद्युत प्राधिकरणअन्तर्गतको पोखरा-भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले भरतपुरमा ग्राहककामा विद्युत लाइन जोड्न थालनी गरेको छ । मंगलबारबाट भूमिगत लाइनमा चार्जिङको काम सुरु गरिएको थियो । आयोजनाले भरतपुरमा तीन सय सेवाग्राहिको घरमा लाइन जोडिसकेको छ ।
आयोजनाले अहिलेसम्म ९४ प्रतिशत काम सकिसकेको जनाएको छ । ग्राहकको घरमा लाइन जडानको काममात्र बाँकी रहेको छ । आयोजनाका प्रमुख इन्जिनियर आनन्द सुवेदीका अनुसार सेवाग्राहिका घरमा जडान गर्ने कामसमेत तीव्र पारिएको छ । उनले भने, ‘अहिलेसम्म तीन सय जना ग्राहकको घरमा भूमिगत प्रक्रियाबाट लाइन जडानको काम सकिएको छ ।’
भरतपुर महानगरपालिकाको ६ लेन सडक र वाइपास सडकको २० किलोमिटर क्षेत्रफलमा भूमिगत पद्धतिबाट लाइन प्रसारण गरिने छ । यसमा एक हजार ३०० ग्राहककोमा भूमिगत विद्युतीकरणबाट विद्युत वितरण गरिने उनले बताए । उनले भने, ‘ग्राहकको घरघरमा भूमिगत विद्युतीकरणबाट लाइन पुर्याएका छौँ, अब जडानको काम बाँकी छ ।’
अहिले केन्द्रीय बस ट्रमिनलबाट नहरचोकसम्म दाहिनेतर्फका घरहरू, गणेशस्थान क्षेत्र र चितवन मेडिकल कलेजबाट चौबिसकोठी क्षेत्रमा रहेका घरहरूमा भूमिगत विद्युतीकरणबाट विद्युत वितरण गरिएको उनले जानकारी दिए । आँपटारीदेखि केन्द्रीय बस ट्रमिनल, केन्द्रीय बस ट्रमिनलदेखि पुलचोक, आँपटारीदेखि पोखरा बसपार्क र भरतपुर सबस्टेशनदेखि भाटभटेनी आडको नहरसम्म विद्युतीय तार भूमिगत गर्ने क्रम सम्पन्न भएको छ । सुवेदीका अनुसार अहिले परीक्षणका लागि बिजुली पास नहुनेगरी लोर्डमा चार्ज गर्ने कामहरू भइरहेको छ ।
बाइपास रोडको दुवैतर्फ गरेर नौ किलोमिटर, केन्द्रीय बस ट्रमिनलदेखि पुलचोकको दुवैतर्फ ८ किलोमिटरमा ३३ केभी, आँपटारीदेखि पोखरा बसपार्क एकतर्फ १.५ किलोमिटर ११ केभी र केन्द्रीय बस ट्रमिनलदेखि मिलनचोकसम्म १.५ किलोमिटर क्षेत्रफलमा एकतर्फी ३३ केभी लाइन भूमिगत रूपमा विस्तारको काम सकिएको उनले जानकारी दिए ।
उनका अनुसार असोजसम्ममा भूमिगत विद्युतीकरणबाट विद्युत पुर्याउने काम सम्पन्न हुनेगरी कामलाई अघि बढाइएको छ । उनले भने, ‘विद्युतीकरणका लागि आवश्यक काम सकिए पनि मौसमका कारण काममा कठिनाइ भएको हो ।’
कतिपय स्थानमा परीक्षण गर्ने क्रममा समस्या देखिने गरेको जनाउँदै उनले सामान्य कामबाहेक सबै काम सकिएको जानकारी दिए । आज औद्योगिक फिडरको लाइनमा चार्ज गरिनेछ । ठेकेदार कम्पनीको तेस्रोपटक थप गरिएको समयसमेत सकिएकाले चौथोपटक म्याद थपका लागि पत्र आएको उनले जानकारी दिए । यस विषयमा कति म्याद थप गर्ने भन्ने निर्णय नभएको उनको भनाइ छ ।
परियोजना भारतको टाटा प्रोजेक्टले सन् २०२४ को जनवरी १९ मा सक्नेगरी सन् २०२२ जनवरी २० मा ठेक्का सम्झौता गरिसकेको छ । भरतपुरको विद्युत भूमिगत गर्नका लागि मात्र एक अर्ब ४० करोड बजेट विनियोजन भएको उनले बताए । बजेट बढेसँगै काम गर्ने क्षेत्र पनि विस्तार गरिएको थियो । आँपटारीदेखि पोखरा बसपार्क र भरतपुर सबस्टेशनदेखि भाटभटेनी नजिक रहेको नहरसम्मको क्षेत्रफल पछि थप गरिएको हो ।
पोखरा-भरतपुर वितरण प्रणाली सुदृढीकरण परियोजना नेपाल सरकार, नेपाल विद्युत प्राधिकरण र एसियाली विकास बैंकको साझेदारीमा तीन अर्ब हाराहारीमा काम भइरहेको उनले बताए ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal