काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मंगलबारदेखि बागमती प्रदेशको ललितपुरमा ‘श्रमाधान रोजगार मेला’ आयोजना गर्ने भएको छ । दुई दिनसम्म चल्ने मेलाको सम्पूर्ण तयारी भइसकेको मन्त्रालयले जनाएको छ ।
रोजगार मेलाको विषयमा जानकारी दिन सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उपसचिव एवं बागमती प्रदेशको श्रमाधान रोजागर मेलाका संयोजक डम्बर सुनुवारले श्रमको खोजीमा रहेका युवाका लागि श्रमाधान रोजगार मेला कोसेढुंगा सावित हुन हुने बताए । उनका अनुसार मेलामा सहभागी हुने रोजगारदाता पनि निकै नै उत्साहित देखिएका छन् ।
‘स्वदेशमै रोजगारी गर्न चाहने युवालाई आर्थिक र सामाजिक रुपमा स्थापित गराउन मेलाले महत्वपूर्ण भूमिका खेल्नेछ,’ उनले भने । मेलाले रोजगारीमात्रै नभएर रोजगारीका लागि ज्ञान तथा सीप आर्जन गरेका युवालाई सीपको सदुपयोग कसरी गर्ने र सीपमा निखारता कसरी ल्याउने भन्ने विषयमा पनि जानकारी दिने उनले बताए ।
त्यस्तै, नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष सूर्यबहादुर कँडेलले दैनिक बिदेसिएका युवालाई नेपालमै रोजगारीको अवसरको सम्भावना देखाउन मेला महत्वपूर्ण भएको बताए । ‘मेलाले नेपालमा रोजगारी नपाएर बिदेसिनुपर्ने अवस्था र श्रमिक नपाएर रोजगारदाताले आप्रवासी श्रमिक भित्र्याउनुपर्ने बाध्यतालाई सम्बोधन गर्नेछ,’ उनले भने ।
मेलाको ललितपुरस्थित पाटन संयुक्त क्याम्पसमा मंगलबार बिहान ११ बजे शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले उद्घाटन गर्नेछिन् । मेलामा बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्साललगायतको उपस्थिति हुनेछ ।
मन्त्रालयले आयोजना गरेको मेलाको संयोजन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, होटल एसोसिएसन नेपाल, नेपाल तालिम तथा रोजगार व्यवसायी र नेपाल घरेलु तथा साना उद्योग महासंघ गर्नेछन् । मेला बुधबारसम्म सञ्चालन हुनेछ । मेलामा ८० वटा निजी तथा सरकारी क्षेत्रका स्टल रहनेछ छन् ।