
मकवापुर । बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरूले छलफललाई तीव्र तुल्याएका छन् ।
सरकार गठनका लागि नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच सत्ता साझेदारीका लागि सहमति भैसकेकाले अन्य दलसँग पनि छलफल अघि बढाइएको छ ।
सरकार गठनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी, हाम्रो नेपाली पार्टी र नेपाल मजदुर किसान पार्टीसँग छलफल भइरहेको एमाले संसदीय दलका प्रमुख सचेतक एकालाल श्रेष्ठले जानकारी दिए ।
‘सरकार गठनका लागि दलहरूसँग छलफल तीव्र रुपमा अघि बढेको छ,’ उनले भने, ‘सरकार गठनको गतिरोध चाँडै नै अन्त्य गर्ने गरी छलफल अघि बढाइएको छ ।’
नयाँ सरकार गठनको गतिरोध अन्त्य गर्न मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सबै दलहरूसँग छलफल गरेको नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक पुकार महर्जनले जानकारी दिए ।
मुख्यमन्त्री बानियाँले नयाँ सरकार गठन गर्न स्पष्ट बहुमत जुटाउन वा कांग्रेस नेतृत्वको वर्तमान सरकारलाई नै समर्थन गर्दै राजनीतिक अन्योलताको अन्त्य गर्न आग्रह गरेका छन् ।
१०४ सदस्यीय बागमती प्रदेश सभामा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपालगायतका ६ दल सहभागी छन् । सिट संख्याका आधारमा प्रदेशमा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको ३६ सिट छ भने नेकपाको २६ र एमालेको २५ सिट छ । त्यस्तै प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टीसँग १२ सिट, नेमकिपासँग तीन र हाम्रो नेपाली पार्टीसँग दुई सिट रहेको छ । बागमती प्रदेश सभामा सरकार गठनका लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ ।
कांग्रेस नेतृवको सरकारबाट समर्थन फिर्ता सहित एमाले बाहिरए पनि नयाँ सरकार गठनका लागि बहुमत पुग्न नसक्दा सरकार निर्माणले निष्कर्ष पाउन सकेको छैन ।
नेपालका पुराना राजनीतिक शक्तिका रुपमा रहेका नेपाली कांग्रेस र एमालेले प्रदेशकमा अन्य दलको समर्थन लिएर आ-आफ्नै नेतृत्वमा सरकार बनाउने प्रयास जारी रहेको बताइएको छ ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal