काठमाडौँ । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा अर्थतन्त्रको बाह्य क्षेत्रमा राम्रो सुधार देखिएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को १० महिनाको तथ्यांकमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार एक वर्षभन्दा बढी समयको वस्तु तथा सेवाको आयात धान्ने विनिमय सञ्चिति रहेको देखिएको हो ।
२०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २६.२ प्रतिशतले वृद्धि भई गत वैशाख मसान्तमा १९ खर्ब ४२ अर्ब ४० करोड पुगेको छ ।
अमेरिकी डलरमा विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८१ वैशाख मसान्तमा २४.२ प्रतिशतले बढेर १४ अर्ब ५४ करोड पुगेको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड रहेकोमा २०८१ वैशाख मसान्तमा २८ प्रतिशतले बढेर १७ खर्ब २२ अर्ब २ करोड पुगेको छ ।
त्यस्तै, बैंक वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा एक खर्ब ९३ अर्ब ५९ करोड रहेकोमा २०८१ वैशाख मसान्तसम्ममा १३.८ प्रतिशतले बढेर दुई खर्ब २० अर्ब ३८ करोड कायम भएको छ । वैशाख मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.१ प्रतिशत छ ।
नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको १० महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १५.१ महिनाको वस्तु आयात र १२.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।
वैशाख मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ३४ प्रतिशतबराबर छ । त्यस्तै, कुल आयातसँगको अनुपात १०५.३ र विस्तृत मुद्राप्रदायसँगको अनुपात २९.२ प्रतिशत छ ।
राष्ट्र बैंकका अनुसार यो अवधिमा शोधनान्तर स्थिति तीन खर्ब ९२ अर्ब ६४ करोडले बचतमा छ । त्यस्तै, गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा आयात २.४, निर्यात ३.६ र कुल वस्तु व्यापार घाटा २.३ प्रतिशतले घटेको छ ।
वैशाख मसान्तसम्ममा नेपाल सरकारको खर्च १० खर्ब ५६ अर्ब ८९ करोड र राजस्व परिचालन आठ खर्ब ३१ अर्ब ९३ करोड छ । यो अवधिसम्मको विस्तृत मुद्राप्रदाय ८.१ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १२.४ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।