• Menu

१० महिनामा करिब १२ खर्ब विप्रेषण भित्रियो, वैदेशिक रोजगारीमा जाने घटे

नेपाल प्रफिट

२०८१ जेठ २८, १८:१५

१० महिनामा करिब १२ खर्ब विप्रेषण भित्रियो, वैदेशिक रोजगारीमा जाने घटे

काठमाडौँ । चालु आर्थिक वर्षको १० महिनामा करिब १२ खर्ब विप्रेषण भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सोमबार सार्वजनिक गरेको वैशाख मसान्तसम्मको विवरणअनुसार सो अवधिमा विप्रेषण आप्रवाह १९.२ प्रतिशतले वृद्धि भएर ११ खर्ब ९८ अर्ब ६० करोड रुपैयाँ पुगेको छ ।

गत वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २३.४ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.१ प्रतिशतले वृद्धि भएर ९ अर्ब दुई करोड पुगेको छ । गत वर्ष विप्रेषण आप्रवाह १३.४ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत– नयाँ) लिने नेपालीको संख्या तीन लाख ७४ हजार ८८७ र पुनः श्रम स्वीकृति लिनेको संख्या दुई लाख ३७ हजार ८९३ रहेको छ ।

गत वर्षको सोही अवधिमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या क्रमश: चार लाख २१ हजार २७९ र दुई लाख ३८ हजार ९७६ थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर १७.२ प्रतिशतले वृद्धि भई १३ खर्ब एक अर्ब ७२ करोड पुगेको छ । गत वर्षको सोही अवधिमा खुद ट्रान्सफर २२.५ प्रतिशतले बढेको थियो ।