• Menu

कांग्रेसभित्रको विवाद मिलाउन साउन २० गते काठमाडौंमा ‘राष्ट्रिय भेला’ हुँदै

नेपाल प्रफिट

२०८३ साउन १७, १६:०९

कांग्रेसभित्रको विवाद मिलाउन साउन २० गते काठमाडौंमा ‘राष्ट्रिय भेला’ हुँदै

काठमाडौं । नेपाली कांग्रेसमा विशेष महाधिवेशनबाट निर्वाचित र १४औँ महाधिवेशनबाट निर्वाचित नेतृत्वबीच विवाद भइरहँदा दुवै पक्षलाई जोड्नुपर्छ भन्ने अभियानले यही साउन २० गते राजधानीमा राष्ट्रिय भेला आयोजना गर्ने घोषणा गरेको छ ।

‘देश र कांग्रेस जोड्ने अभियान’ले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा कांग्रेस एक हुनुपर्छ भन्ने पक्षधरका नेता कार्यकर्ताको भेला राजधानीमा आयोजना गर्न लागिएको जानकारी दियो । पत्रकार सम्मेलनमा राष्ट्रियसभा सदस्य समेत रहेका कांग्रेस नेता रञ्जित कर्णले पार्टी सभापति गगनकुमार थापा र शनिबार चुनदेवीको पत्रकार सम्मेलनबाट संयोजक घोषणा गरिएका डा. शशाङ्क कोइराला पार्टी एक बनाउन लाग्नुपर्ने बताए ।

पूर्व केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेस कमजोर हुँदा लोकतन्त्र र राष्ट्रियता कमजोर हुने गरेकाले कांग्रेसलाई एक बनाउन दबाब दिने उद्देश्यले साउन २० गते भेला गर्न लागिएको जानकारी दिए ।

पार्टी एकताको आवश्यकता देखेर कांग्रेस जोड्ने अभियान आजैदेखि सुरु गरिएको उनले बताए । भेलामा सहभागी हुन एक हजार ३५९ प्रतिनिधिले नाम दर्ता गराएका नेता महरले बताए ।

कार्यक्रममा तनहुँको भानु नगरपालिकाका नगरप्रमुख आनन्द त्रिपाठीले कांग्रेस एक बनाएर देश र कांग्रेस जोड्ने अभियानमा साथ दिन देशभरका जनप्रतिनिधिलाई आग्रह गरे ।

सम्बन्धित समाचार