धनुषा । संयुक्त हिन्दू मोर्चा र सरकारबीच आइतबार पुनः वार्ता भएको छ। गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा जनकपुरस्थित यात्री निवासमा भएको वार्तामा दुवै पक्षबीच मौखिक सहमति भएको छ।
वार्तापछि केही नयाँ बुँदा थपेर सहमतिलाई १८ बुँदे बनाइएको बताइएको छ। मोर्चाले आफ्ना मागहरू गृहमन्त्री गुरुङसमक्ष औपचारिक रूपमा पेश गरेको छ ।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलका अनुसार शनिबार राति भएको १३ बुँदे सहमतिमा रहेका केही अस्पष्ट विषयलाई आइतबारको वार्ताबाट स्पष्ट पारिएको हो ।
उनले शनिबारको सहमतिमा लेटरप्याड र हस्ताक्षरलगायतका विषयमा मोर्चाले उठाएका जिज्ञासाको गृहमन्त्रीले स्पष्ट जवाफ दिएको र त्यसपछि वार्ता सकारात्मक रूपमा टुंगिएको बताए ।
प्रमुख जिल्ला अधिकारी लुइँटेलका अनुसार वार्तापछि संयुक्त हिन्दू मोर्चा सहमतिप्रति सन्तुष्ट भएको छ भने उसले घोषणा गरेका आन्दोलनका कार्यक्रम पनि फिर्ता लिएको छ ।
वार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै हिन्दू सम्राट सेनाका केन्द्रीय उपाध्यक्ष कृष्ण सनातनीले सहमतिका केही विषय सच्याइएको र आफ्ना माग सम्बोधन गर्नेबारे गृहमन्त्रीबाट आश्वासन प्राप्त भएको बताए ।
उनले गृहमन्त्रीले भविष्यमा कुनै पनि अवस्थामा गोली चलाउने अवस्था सिर्जना हुन नदिने प्रतिबद्धता व्यक्त गरेको दाबी पनि गरे ।