• Menu

ठगीको जालोमा मौसमी कामदार : नेपालमा ठूलो रकम असुली, दक्षिण कोरियामा श्रम शोषण

नेपाल प्रफिट

२०८१ जेठ २८, १०:२८

ठगीको जालोमा मौसमी कामदार : नेपालमा ठूलो रकम असुली, दक्षिण कोरियामा श्रम शोषण

काठमाडौं । मौसमी कामदारका नाममा दक्षिण कोरिया पठाइएका युवा स्वदेशदेखि विदेशसम्म शोषणमा परेको पाइएको छ । स्वदेशमा ६ देखि १५ लाख रुपैयाँसम्म तिरेर दक्षिण कोरिया पुगेका युवा त्यहाँ पनि श्रम शोषणमा परेको पाइएको हो ।

मौसमी कामदारको रुपमा दक्षिण कोरिया पुगेर श्रम शोषणमा पर्ने युवाहरु नेपालीसहित फिलिपिन्स, भियतनाम, मंगोलिया, लाओस, कम्बोडिया, उज्वेकिस्तान, थाइल्यान्डलगायत देशका छन् ।

मूलत: कृषि क्षेत्रको ज्ञान तथा सीप हासिल गर्ने प्रयोजनका लागि युवालाई तीन महिनादेखि एक वर्षसम्मका लागि दक्षिण कोरियालगायतका मुलुक पठाउन सरकारले कानुनी व्यवस्था गरेको थियो । तर, त्यसको गलत पाइदा उठाउँदै विभिन्न स्थानीय तहले चर्को रकम असुल गरी युवालाई मौसमी कामदारका रुपमा दक्षिण कोरिया पठाएका थिए ।

थम्प्सन रोयटर्स फाउन्डेसनले गरेको अनुसन्धानले मौसमी कामदारका रुपमा दक्षिण कोरिया पुगेका युवामाथि श्रम शोषण भएको देखाएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरु जनाएका छन् । मौसमी कामदारका रुपमा स्वदेशमा ठूलो रकम बुझाएर गएका युवा भनिएअनुसारको तलब नपाएको र कतिपयले विचौलियाको फन्दामा परेको बताएका छन् ।

काम दिलाइदिने बहानामा विचौलियाहरुले महँगो रकम असुलेको तथा रकम जुटाउन नसक्दा जग्गाजमिन बन्धक राख्नुपरेको अनुभवसमेत कामदारहरुले सुनाएको समाचारमा उल्लेख छ । त्यस्तै कतिपय मौसमी कामदार मानव तस्करी र जबर्जस्ती जोखिम क्षेत्रमा काम गर्न बाध्य भएको पनि जनाइएको छ ।

वैदेशिक रोजगार ऐनविपरीत इलामको माङ्सेबुङ गाउँपालिका र फाकफोकथुम गाउँपालिकाले २०७९ को स्थानीय तह चुनावअगाडि ठूलो रकम लिएर दक्षिण कोरियामा मौसमी कामदार पठाएका थिए । उनीहरुले दक्षिण कोरियाका स्थानीय तहसँग भगिनी सम्बन्ध गाँसेर कामदार पठाएका हुन् ।

ठूलो रकम तिरेर कोरिया पुगेका नेपाली मौसमी कामदार उतै भाग्ने गरेका छन् । अवैध ढंगले बसेका युवामाथि थप शोषण हुने गरेको छ । मौसमी कामदारका रुपमा पुगेका युवा अवैध ढंगले बसेको पाइएपछि अहिले भने दक्षिण कोरिया सरकारले प्रक्रिया रोकेको छ ।