काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका कार्यवाहक प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ प्रधानमन्त्रीका रुपमा शपथ ग्रहण गर्ने समारोहमा सहभागी हुन नयाँ दिल्ली प्रस्थान गरेका छन् ।
प्रधानमन्त्री दाहाललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, उपप्रधानमन्त्रीद्वय रघुवीर महासेठ र नारायणकाजी श्रेष्ठ, मन्त्रीगण, सांसद, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, सुरक्षा निकायका प्रमुखलगायतले बिदाइ गरेका छन् । उनको बिदाइमा नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो ।
प्रधानमन्त्री दाहालका साथमा उनकी पुत्री गंगा दाहाल, कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी अधिकारी पनि छन् ।
तेस्रो कार्यकालका लागि भारतीय जनता पार्टीका नेता मोदीले भारतको प्रधानमन्त्री पदको आज आइतबार साँझ शपथ लिने कार्यक्रम छ । शपथ समारोहपछि प्रधानमन्त्री दाहाल र मोदीबीच भेटवार्ता हुने कार्यक्रम रहेको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ । प्रधानमन्त्री दाहाल सोमबार स्वदेश फर्किनेछन् ।