• Menu

सोरुबाट सुरु भएको कर्णालीका पाँचौँ मुख्यमन्त्री मंगलबहादुर शाहीको राजनीतिक यात्रा, शिक्षक र बन्दीदेखि मुख्यमन्त्रीसम्म

नेपाल प्रफिट

२०८३ साउन १३, बुधबार १७:१३

सोरुबाट सुरु भएको कर्णालीका पाँचौँ मुख्यमन्त्री मंगलबहादुर शाहीको राजनीतिक यात्रा, शिक्षक र बन्दीदेखि मुख्यमन्त्रीसम्म

सुर्खेत । कर्णाली प्रदेशको नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाही मुगु जिल्ला सोरु गाउँपालिका-६ का बासिन्दा हुन् ।

आमा बिजुरा र पिता विक्रमबहादुर शाहीका जेठा सुपुत्रका रूपमा २०२५ साल भदौ १६ गते जन्मिएका मुख्यमन्त्री शाहीले कक्षा एकदेखि तीनसम्म स्थानीय सोरुकोट प्राथमिक विद्यालय, कक्षा चारदेखि ७ जनज्योति निमावि नाथरपुर, ८ कक्षा मावि श्रीनगर हुम्ला, कक्षा ९ र १० जुम्ला अध्ययन गरेका थिए ।

२०४४ सालमा चन्दननाथ मावि जुम्लाबाट प्रवेशिका परीक्षा (एसएलसी) गरेपश्चात् उच्च शिक्षाका लागि उनी नेपाल ल क्याम्पस काठमाडौंमा भर्ना भए । सोही क्रममा २०४५ सालमा उनले अनेरास्ववियुबाट विद्यार्थी राजनीति सुरु गरेका थिए । नेकपा (माले)को पाँचौँ राष्ट्रिय महाधिवेशनबाट राजनीति सुरु गरेका उनी ल क्याम्पसबाट २०४७ सालमा कानुनमा प्रवणीता प्रमाण पत्र तह उत्तीर्ण भए ।

उनी २०५४ मा नेकपा (एमाले) एरिया कमिटी सचिव भए । २०५६ सालको आम निर्वाचनमा भएको झडपपछि नौ दिन उनले हिरासतमा बस्नुपर्यो । अस्थायी र स्थायी शिक्षकका रूपमा काम गरेका शाहीले १३ वर्षमा १६ विद्यालयमा अध्यापन गरेका थिए । उनी २०५८ सालमा तत्कालीन नेकपा (माओवादी) पार्टीले सञ्चालन गरेको सशस्त्र विद्रोहमा पूर्णकालीन सदस्य भए । त्यस क्रममा उनलाई पार्टीले दिएको जिम्मेवारी विभिन्न मोर्चामा रहेर पुरा गरे । २०५९ सालदेखि २०६४ सम्मको अवधिमा शाही जिल्ला कमिटी सदस्य हुँदै पार्टी सचिवका रूपमा काम गरे ।

२०६५ सालपछि उनले पार्टीको जिल्ला इञ्चार्जको जिम्मेवारी सम्हाले । २०६९ सालमा तत्कालीन नेकपा (माओवादी) विभाजनपछि किरण वैद्य समूहमा लागेका उनले २०७० सालको संविधानसभा निर्वाचन बहिष्कारमा उत्रेपछि १८ दिन जेल परेका थिए । २०७१ सालमा प्रचण्ड नेतृत्वको पार्टीमा एकता भएयता नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य हुन् ।

उनी २०७९ सालको प्रदेशसभा निर्वाचनमा मुगु निर्वाचन क्षेत्र (ख)बाट निर्वाचित भए । उनले यस अगाडि कर्णालीको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय सम्हाली सकेका छन् । २०८२ सालमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशसभा दल नेताका रूपमा चयन भएका थिए ।

नेकपा (एमाले)को समर्थनमा मंगलबार कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष मुख्यमन्त्री पदमा दाबी पेस गरेसँगै उनलाई नेपालको संविधान बमोजिम प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । मुख्यमन्त्री शाहीले आजै सपथ लिइसकेका छन् ।

कर्णाली प्रदेशको पाँचौँ नवनियुक्त मुख्यमन्त्री शाहीले सुशासन, उत्पादन र रोजगारी दिने र गरिबी हटाएर कर्णालीको समृद्धिको यात्रालाई गन्तव्य पुर्‍याउन प्रमुख लक्ष्यकासाथ काम गर्ने अठोट गरेका छन् ।