• Menu

एआईबिडीकी कार्यकारी अधिकृतसँग मन्त्री तिमिल्सिनाको भेट, सञ्चार क्षेत्रका चुनौती र कानुन सुधारमा छलफल

नेपाल प्रफिट

२०८३ साउन १३, बुधबार १२:५३

एआईबिडीकी कार्यकारी अधिकृतसँग मन्त्री तिमिल्सिनाको भेट, सञ्चार क्षेत्रका चुनौती र कानुन सुधारमा छलफल

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपालमा आयोजना हुन लागेको एसिया-प्यासिफिक इन्स्टिच्युट फर ब्रोडकास्टिङ डेभलपमेन्ट (एआईबिडी) को २४औँ सम्मेलनले सञ्चार क्षेत्रका चुनौती र अवसरबारे बहसका साथै सञ्चार कानुन सुधार प्रक्रियालाई महत्वपूर्ण पृष्ठपोषण गर्ने विश्वास व्यक्त गरेका छन् ।

बुधबार मन्त्रालयमा एआईबिडीका प्रमुख कार्यकारी अधिकृत फिलोमेना ज्ञानप्रगासमसँग भएको शिष्टाचार भेटवार्ताका क्रममा मन्त्री तिमिल्सिनाले सञ्चार क्षेत्र तीव्र रूपमा परिवर्तन भइरहेकाले नयाँ कानुन निर्माण र पुराना कानुन संशोधनको प्रक्रिया अघि बढिरहेको बताए । सम्मेलनबाट प्राप्त सुझाव नीतिनिर्माणमा उपयोगी हुने उनको भनाइ थियो।

उनले सामुदायिक रेडियोले सूचना प्रवाह, जनचेतना अभिवृद्धि र लोकतन्त्र सुदृढीकरणमा महत्वपूर्ण योगदान दिएको उल्लेख गर्दै विद्युतीय सञ्चार माध्यमले नागरिक सहभागिता र उत्तरदायी शासन प्रवर्धनमा प्रभावकारी भूमिका खेल्दै आएको बताए ।

मन्त्री तिमिल्सिनाले सञ्चार क्षेत्रले आर्थिक दिगोपन, प्रविधिगत रूपान्तरण र विश्वसनीयताजस्ता चुनौती सामना गरिरहेको उल्लेख गर्दै ती समस्या समाधानका लागि सरकारले प्राथमिकताका साथ काम गरिरहेको जानकारी दिए । नागरिक पत्रकारिता र डिजिटल माध्यमको विस्तारसँगै मुख्यधारका सञ्चारमाध्यमको विश्वसनीयता र व्यावसायिकता जोगाउन थप ध्यान दिनुपर्ने उनले बताए ।

भेटमा एआईबिडीकी प्रमुख कार्यकारी अधिकृत फिलोमेना ज्ञानप्रगासमले दक्षिण एसियामा रेडियो अझै पनि प्रभावकारी सञ्चार माध्यम रहेको बताउँदै नेपालको सामुदायिक रेडियो अभियानले ठूलो जनसमुदायसम्म सूचना पुर्‍याउन उल्लेखनीय भूमिका खेलेको बताइन् ।

उनले कृत्रिम बुद्धिमत्ता, डिजिटल सूचना प्रणाली, जलवायु परिवर्तन, मानव अधिकार तथा समसामयिक सामाजिक विषयमा रेडियो र टेलिभिजनको भूमिका विस्तार भइरहेको उल्लेख गर्दै विपद्को समयमा विश्वसनीय सूचना प्रवाहमा विद्युतीय सञ्चार माध्यम अझै अपरिहार्य रहेको धारणा राखिन ।

भेटमा सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) का अध्यक्ष अर्जुन गिरीसहितका पदाधिकारीले सामुदायिक रेडियोले सामाजिक मुद्दा उठाउने, सीमान्तकृत समुदायलाई मूलधारमा ल्याउने र स्थानीय तहसम्म सूचना पुर्‍याउने महत्वपूर्ण काम गरिरहेको उल्लेख गर्दै बदलिँदो सञ्चार परिवेशअनुसार कानुनी तथा नीतिगत सहजीकरण गर्न सरकारसँग आग्रह गरे ।

अकोराबका अनुसार आगामी अगस्ट २३ देखि २५ सम्म काठमाडौंमा हुने एआईबिडीको २४औँ सम्मेलनमा एसिया-प्रशान्त क्षेत्रका विभिन्न देशका सञ्चार नीति निर्माता, प्रसारण क्षेत्रका विज्ञ, सञ्चार संस्था तथा सञ्चारकर्मीको सहभागिता रहनेछ।