
कञ्चनपुर । कैलाली-कञ्चनपुर सीमामा रहेको सुदूरपश्चिमको प्रमुख भन्सार नाका गौरीफन्टाबाट आर्थिक वर्ष २०८२/८३ मा एक अर्ब २९ करोड ७७ लाख रुपैयाँभन्दा बढी मूल्यका वस्तु निर्यात भएका छन् । कैलाली भन्सार कार्यालयका अनुसार यसरी निर्यात भएका अधिकांश वस्तु कच्चापदार्थ र वनजन्य उत्पादनमै सीमित छ, जसबाट एक करोड ८४ लाख ७१ हजार ७२३ राजश्व संकलन भएको छ । यसले सुदूरपश्चिममा मूल्य अभिवृद्धि गर्ने उद्योगको विकास हुन नसकेको र निर्यात अझै प्राकृतिक स्रोतमा आधारित रहेको देखिएको छ ।
भन्सार कार्यालयका अनुसार यहाँबाट सबैभन्दा धेरै ४४ करोड २७ लाख २८ हजार ५०० बराबरको रोजिन तथा रेजिन एसिड निर्यात भएको छ । त्यसपछि कत्था २१ करोड ६६ लाख ७९ हजार ८४०, वनस्पतिबाट प्राप्त हुने रस तथा अर्क १६ करोड ९२ लाख २००, रेपसिड तेल उद्योगको अवशेष (आयल केक) १३ करोड एक लाख ५७ हजार ४४८ र तरल कत्था १२ करोड ७८ लाख ८४ हजार बराबर निर्यात भएको छ ।
यस्तै, टर्पेन्टाइन तेल १२ करोड सात लाख ९७ हजार ६००, प्लाइउडमा प्रयोग हुने भिनियर सिट तीन करोड ५७ लाख ४५ हजार ७५८, खयर कत्था तीन करोड २९ लाख आठ हजार र टाल्कजस्ता वस्तु दुई करोड १५ लाख ४१ हजार १३६ को निर्यात भएको छ । यीमध्ये अधिकांश वनजन्य स्रोत वा सामान्य प्रशोधनपछि निर्यात हुने वस्तु हुन् । उच्च मूल्य अभिवृद्धि भएका औद्योगिक उत्पादन भने शीर्ष निर्यात सूचीमा छैनन् ।
यस्तो निर्यात संरचनाले प्रदेशमा उद्योगीकरण कमजोर रहेको देखाएको छ । स्थानीय कच्चा पदार्थ प्रशोधन गरी अन्तिम उत्पादनका रूपमा निर्यात गर्न सकिए निर्यातको मूल्य र रोजगारी दुवै बढ्न सक्ने अवस्था रहेको जानकारहरु बताउँछन् ।
गत आवमा २०८२/८३ मा कुल ९ अर्ब ७१ करोड १५ लाख ६ हजार राजस्व उठाउने लक्ष्य पाएकामा आठ अर्ब ३९ करोड ८५ लाख ६० हजार राजस्व संकलन गरेको छ । यो लक्ष्यको ८६.४८ प्रतिशत हो । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा भने कार्यालयले ११ अर्ब १६ करोड २६ लाख ३० हजार लक्ष्यमध्ये आठ अर्ब ६६ करोड ९८ लाख रुपैयाँ अर्थात् ७७.६७ प्रतिशत राजस्व उठाएको थियो । यस आधारमा लक्ष्य प्राप्तिको प्रतिशतमा गत वर्षभन्दा यस वर्ष करिब ८.८१ प्रतिशत बिन्दुले सुधार देखिएको छ ।
यहाँ डिजेल, पेट्रोल, एलपी ग्यास, कागज, खाद्य सामग्री, फुड सप्लिमेन्ट, बिटुमिन, तोरीलगायतका वस्तु ठूलो परिमाणमा आयात भएका छन् । डिजेल आयातबाट मात्रै तीन अर्ब ३८ करोड ६० लाख सात हजार ३०९ राजस्व संकलन भएको छ, जुन कुल राजस्वको ४०.३२ प्रतिशत हो ।
दोस्रो स्थानमा रहेको पेट्रोल आयातबाट एक अर्ब ६५ करोड ७० लाख ५९ हजार ६२० अर्थात् १९.७३ प्रतिशत राजस्व प्राप्त भएको छ । डिजेल र पेट्रोलबाट मात्रै कुल राजस्वको करिब ६० प्रतिशत योगदान रहेको तथ्यांकले देखाउँछ ।
यसैगरी एलपी ग्यासबाट ३४ करोड ८२ लाख ३५ हजार ६६८, कागज तथा पेपरबोर्डबाट ३६ करोड ९८ लाख ६१ हजार १३८, दालमोठ, पापड, भुजियालगायतबाट १०, फुड सप्लिमेन्टबाट नौ करोड नौ लाख ६ हजार ९८५, पेट्रोलियम बिटुमिनबाट आठ करोड ७७ लाख ८७ हजार ५६, तोरी सात करोड ३९ लाख ८६ हजार २३८, एभिएसन टर्बाइन इन्धन पाँच करोड ५३ लाख ३२ हजार ९४० र बेकरीजन्य वस्तु आयातबाट पाँच करोड १४ लाख ८८ हजार ८८९ राजस्व संकलन भएको कार्यालयका सूचना अधिकारी प्रकाश तिमिल्सिनाले जानकारी दिए ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal