
टोकियो । जापानको दक्षिणपश्चिमी क्युसु टापुको कुमामोतो प्रान्तमा मंगलबार आएको शक्तिशाली भूकम्पमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्। भूकम्पले सपिङ मल, औद्योगिक प्रतिष्ठान, सडक, पुल तथा ऐतिहासिक संरचनामा व्यापक क्षति पुर्याएको छ भने हजारौँ घरमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ।
स्थानीय समयअनुसार अपराह्न ४:२७ बजे आएको भूकम्पको तीव्रता अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले ६.८ म्याग्निच्युड र जापानी अधिकारीहरूले ७.१ म्याग्निच्युड रहेको बताएका छन्। भूकम्पको केन्द्रविन्दु १० किलोमिटर गहिराइमा रहेको जनाइएको छ ।
सबैभन्दा ठूलो क्षति कासिमा सहरस्थित एक सपिङ मलमा भएको ग्यास विस्फोटबाट भएको छ। भवनको छाना र पर्खाल भत्किँदा आठ जनाको उद्धार गरिएको छ, जसमध्ये पाँच जना घाइते छन्। भवनभित्र अझै केही कर्मचारी फसेको पुष्टि भए पनि उद्धार कार्य जारी रहेको छ।
यात्सुशिरोस्थित निप्पोन पेपर इन्डस्ट्रिजको कारखानामा पनि ठूलो क्षति पुगेको छ। कारखानाको संरचनाको एक भाग भत्किएको छ भने त्यहाँ कार्यरत नौ जनाको अवस्थाबारे अझै जानकारी प्राप्त हुन सकेको छैन।
भूकम्पपछि कुमामोतो क्षेत्रमा आगलागी, सडक चर्किने, पुलमा क्षति पुग्ने तथा मालवाहक रेल पल्टिने घटनासमेत भएका छन्। कुमामोतो विमानस्थल केही घण्टापछि पुनः सञ्चालनमा आए पनि सिङ्कानसेन उच्चगतिको रेल सेवा अस्थायी रूपमा स्थगित गरिएको थियो।
बुधबार बिहानसम्म ३६ हजार ८८० घर तथा अन्य संरचनामा विद्युत सेवा अवरुद्ध रहेको छ। उद्धार तथा राहत कार्यका लागि जापानी रक्षा मन्त्रालयले ३ हजार ६०० सैनिक र २० वटा सैन्य विमान परिचालन गरेको छ।
भूकम्पका प्रत्यक्षदर्शीहरूले भवनहरू तीव्र रूपमा हल्लिँदा ठूलो त्रास फैलिएको बताएका छन्। सुरक्षा क्यामेरामा सडक चर्किएको र ऐतिहासिक कुमामोतो महलको पर्खालका केही भाग भत्किएको दृश्यसमेत देखिएको छ।
प्रशान्त महासागरको ‘रिङ अफ फायर’ क्षेत्रमा अवस्थित जापान विश्वका सबैभन्दा बढी भूकम्प आउने मुलुकमध्ये एक हो। सन् २०११ मा आएको ९.० म्याग्निच्युडको विनाशकारी भूकम्प र त्यसपछिको सुनामीमा करिब १८ हजार ५०० जनाको ज्यान गएको थियो।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal