
काठमाडौं । सुनसरीको देवानगन्ज गाउँपालिका-३ कप्तानगन्जमा भएको हिंसात्मक घटनापछि गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहित सुरक्षा निकायका प्रमुखहरूको जिम्मेवारी हेरफेर गरेको छ।
गृह मन्त्रालयले सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेलाई मन्त्रालयमा फिर्ता बोलाएर उनको स्थानमा संखुवासभाका प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद अर्याललाई खटाएको छ ।
यस्तै, कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय तानिएको छ भने प्रहरी प्रधान कार्यालयमा कार्यरत डीआईजी शेखर खनाललाई कोशी प्रदेश प्रहरी कार्यालय पठाउने निर्णय गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) केशव थेवेलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा सरुवा गरिएको छ। उनको स्थानमा विमानस्थलमा कार्यरत एसपी पुष्पराज मल्ललाई सुनसरी पठाइएको छ।
त्यसैगरी, सशस्त्र प्रहरी बल नेपाल कप्तानगन्जमा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) नन्दकिशोर महतोलाई पनि फिर्ता बोलाइएको छ। उनको स्थानमा सशस्त्र प्रहरी प्रधान कार्यालय, काठमाडौंमा कार्यरत डीएसपी मदन नाथलाई खटाइएको छ ।
आइतबार राति कप्तानगन्जमा दुई समूहबीच भएको झडपमा एक जनाको मृत्यु भएको थियो भने ९ जना सर्वसाधारण, १० जना नेपाल प्रहरी र ५ जना सशस्त्र प्रहरीसहित २४ जना घाइते भएका थिए ।
घटनाको छानबिनका लागि गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ। समितिलाई एक साताभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ ।
घटनापछि थप अप्रिय अवस्था सिर्जना हुन नदिन जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगन्ज र हरिनगर गाउँपालिकाका केही क्षेत्रमा आइतबार बिहान ७ बजेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal