• Menu

नारायणी अस्पतालमा चिकित्सकमाथि आक्रमणको विरोधमा वीरगन्जमा स्वास्थ्यकर्मीको प्रदर्शन

नेपाल प्रफिट

२०८३ साउन ११, १७:३८

नारायणी अस्पतालमा चिकित्सकमाथि आक्रमणको विरोधमा वीरगन्जमा स्वास्थ्यकर्मीको प्रदर्शन

पर्सा । नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणको विरोधमा स्वास्थ्यकर्मीहरूले आइतबार वीरगञ्जको घण्टाघरमा प्रदर्शन गर्दै दोषीमाथि कानुनबमोजिम कारबाही र स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न माग गरेका छन् ।

शनिबार उपचारका क्रममा वीरगन्ज महानगरपालिका-२५ निवासी ४५ वर्षीय राजकुमार पटेलको मृत्यु भएपछि उनका आफन्तले चिकित्सकमाथि आक्रमण गरेका थिए । मृतकका परिवारले चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको आरोप लगाउँदै आएका छन् ।

आक्रमणमा आकस्मिक कक्षमा कार्यरत मेडिकल अफिसर डा. प्रमोद राम गम्भीर घाइते भएका छन्। उनको अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको छ।

प्रदर्शनमा सहभागी स्वास्थ्यकर्मीहरूले दोषीलाई तत्काल कानुनी कारबाही गर्न, स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न तथा सुरक्षित कार्य वातावरणको व्यवस्था गर्न माग गरेका छन् । उनीहरूले ‘दोषीलाई कारबाही गर’, ‘निलम्बन फिर्ता गर’ र ‘डाक्टर प्रमोदलाई न्याय दे’ लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

घटनाको छानबिनका लागि नारायणी अस्पतालले समिति गठन गरेको छ। साथै छानबिन प्रतिवेदन नआउञ्जेल उपचारमा संलग्न पाँच जना स्वास्थ्यकर्मीलाई जिम्मेवारीबाट हटाइएको अस्पतालले जनाएको छ ।