• Menu

सीमामा कडाइ भएपछि बाँकेमा बन्द रहेका मासु उद्योग र पोल्ट्री व्यवसायमा फर्कियो उत्साह

नेपाल प्रफिट

२०८३ साउन ११, १७:५९

सीमामा कडाइ भएपछि बाँकेमा बन्द रहेका मासु उद्योग र पोल्ट्री व्यवसायमा फर्कियो उत्साह

बाँके । बाँकेको सीमा क्षेत्रबाट हुने बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रणमा आउन थालेपछि बन्द भएका मासु पसल तथा मासु प्रशोधन उद्योगहरू पुनः सञ्चालन हुन थालेका छन् ।

सरकारले सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी कडा बनाएसँगै अवैध रूपमा भित्रिने बोइलर कुखुराको आयात घट्न थालेपछि स्थानीय मासु व्यवसायमा पुनः उत्साह देखिएको हो।

यसक्रममा करिब पाँच करोड रुपैयाँको लगानीमा स्थापना गरिएको भेरी मिट सप एण्ड कोल्ड स्टोर पनि पुनः सञ्चालनको अन्तिम तयारीमा पुगेको छ। डल्फिन ग्रुपले २०७९ सालमा स्थापना गरेको उक्त उद्योग अवैध आयातका कारण प्रतिस्पर्धा गर्न नसकी बन्द भएको थियो।

डल्फिन ग्रुपका कार्यकारी निर्देशक तीर्थ थापाले सीमा क्षेत्रमा अवैध व्यापार नियन्त्रणका लागि सरकारले देखाएको सक्रियताले स्वदेशी उद्योग र किसानमा नयाँ आशा जगाएको बताए। उनका अनुसार उद्योग सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ र चाँडै गुणस्तरीय, सुरक्षित तथा स्वच्छ मासु उपभोक्तासम्म पुर्‍याइनेछ।

थापाले अवैध बोइलर आयात पूर्ण रूपमा नरोकिए पनि विगतको तुलनामा उल्लेखनीय रूपमा घटेको भन्दै यसले स्वदेशी उत्पादनलाई बजारमा प्रतिस्पर्धा गर्न सहज वातावरण सिर्जना गर्ने विश्वास व्यक्त गरे।

उद्योग सञ्चालनमा रहँदा आधुनिक प्रशोधन प्रणाली, शीत शृङ्खला र स्वच्छ उत्पादन प्रक्रियाका कारण उपभोक्ताको विश्वास जित्न सफल भएको थियो। तर सीमाबाट सस्तो मूल्यमा अवैध रूपमा भित्रिने बोइलर कुखुराले बजार कब्जा गरेपछि स्वदेशी उद्योग सञ्चालन गर्न कठिन भएको थियो।

उद्योग बन्द हुँदा करिब १०० जना श्रमिकले रोजगारी गुमाएका थिए भने बोइलर कुखुरापालक किसान, पोल्ट्री व्यवसाय, दाना उद्योग, ढुवानी तथा अन्य सहायक व्यवसायसमेत प्रभावित भएका थिए।

उद्योग पुनः सञ्चालनसँगै बाँके, बर्दिया, दाङ, सुर्खेतलगायत जिल्लाका हजारौँ बोइलर कुखुरापालक किसानले प्रत्यक्ष लाभ पाउने अपेक्षा गरिएको छ। साथै अन्तरराष्ट्रिय मापदण्डअनुसारका अत्याधुनिक उपकरण जडान गरी सुरक्षित र गुणस्तरीय मासु उत्पादनमा जोड दिइने डल्फिन ग्रुपले जनाएको छ।