• Menu

नारायणी अस्पतालमा आक्रमणमा घाइते डा. प्रमोद ट्रमा सेन्टर भर्ना, उपचारमा कमी नहुन मन्त्रीको निर्देशन

नेपाल प्रफिट

२०८३ साउन ११, १७:२४

नारायणी अस्पतालमा आक्रमणमा घाइते डा. प्रमोद ट्रमा सेन्टर भर्ना, उपचारमा कमी नहुन मन्त्रीको निर्देशन

काठमाडौं । नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणमा गम्भीर घाइते मेडिकल अफिसर डा. प्रमोद रामलाई थप उपचारका लागि काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा ल्याइएको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा सेन्टर पुगेर डा. रामको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै उपचारमा कुनै कमी हुन नदिन चिकित्सक र अस्पताल प्रशासनलाई निर्देशन दिएकी छन्। मन्त्रालयका अनुसार विशेषज्ञ उपचारका लागि आवश्यक सबै व्यवस्था मिलाइएको छ।

मन्त्री मेहताले उपचारमा संलग्न चिकित्सकहरूसँग छलफल गर्दै मन्त्रालय आवश्यक सबै सहयोग गर्न प्रतिबद्ध रहेको बताइन् ।

यसैबीच, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नारायणी अस्पतालमा भएको तोडफोड तथा चिकित्सक र स्वास्थ्यकर्मीमाथिको आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयले उपचारका क्रममा देखिने विवाद समाधानका लागि कानुनी व्यवस्था विद्यमान रहेकाले कानुन हातमा लिएर हिंसात्मक गतिविधि गर्नु कुनै पनि अवस्थामा स्वीकार्य नहुने स्पष्ट पारेको छ ।

मन्त्रालयले स्थानीय प्रशासनलाई घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनबमोजिम कारबाही अघि बढाउन आग्रह गरेको छ । साथै चिकित्सक तथा स्वास्थ्यकर्मीलाई नियमित स्वास्थ्य सेवा सञ्चालन गर्न अनुरोध गर्दै अस्पतालमा सुरक्षित र निर्भय वातावरण सुनिश्चित गर्न सम्बन्धित सबै पक्षसँग अपिल गरेको छ ।

मन्त्री मेहताले स्वास्थ्यकर्मीमाथिको हिंसा कुनै पनि समाजका लागि अस्वीकार्य रहेको उल्लेख गर्दै स्वास्थ्य संस्थामा सुरक्षित कार्य वातावरण सुनिश्चित गर्नु सरकारको प्राथमिक जिम्मेवारी भएको बताइन् । यस्ता घटना दोहोरिन नदिन आवश्यक कानुनी तथा प्रशासनिक कदम प्रभावकारी रूपमा अघि बढाइने प्रतिबद्धता पनि उनले व्यक्त गरिन् ।