
एजेन्सी । बेलायतका नवनियुक्त प्रधानमन्त्री एन्डी बर्नह्यामले पदभार सम्हालेको एक सातापछि आफ्नो पहिलो विदेशी अतिथिका रूपमा युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीलाई सोमबार लन्डनमा स्वागत गर्दै युक्रेनप्रतिको बेलायतको समर्थन पुनः दोहोर्याउने भएका छन् ।
डाउनिङ स्ट्रिटका अनुसार दुवै नेताले बेलायती नौसैनिक अड्डाको संयुक्त भ्रमण गर्नुका साथै बेलायतमा तालिम लिइरहेका युक्रेनी सैनिक र उनीहरूलाई प्रशिक्षण दिइरहेका बेलायती सैन्य अधिकारीसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री बर्नह्यामले युक्रेनसँग बेलायतको ऐक्यबद्धता कायम रहने र दीर्घकालीन तथा न्यायपूर्ण शान्ति स्थापना नभएसम्म सहयोग निरन्तर जारी रहने स्पष्ट पारेका छन् । उनले रुसले बेलायतको प्रतिबद्धतामाथि कुनै शंका नगर्नुपर्ने पनि बताएका छन् ।
भ्रमणका क्रममा बेलायतले ‘स्टोन क्लोक’ नामक नयाँ इलेक्ट्रोनिक जामिङ प्रविधिको बौद्धिक सम्पत्ति युक्रेनसँग साझेदारी गर्ने घोषणा गर्ने भएको छ। ड्रोनमा जडान गर्न सकिने यो प्रविधिले रूसी हवाई प्रतिरक्षा प्रणालीलाई ड्रोन पहिचान र लक्षित गर्न अवरोध सिर्जना गर्ने क्षमता राख्ने जनाइएको छ।
डाउनिङ स्ट्रिटका अनुसार उक्त प्रविधि बेलायत-युक्रेनबीचको १०० वर्षे साझेदारी सम्झौताअन्तर्गत विकसित गरिएको हो। यसअघि बेलायतले हजारौँ जामिङ उपकरण युक्रेनी सेनालाई उपलब्ध गराइसकेको छ भने भविष्यमा संयुक्त उत्पादनको सम्भावनासमेत अघि बढाइने तयारी छ।
बेलायतले रुस-युक्रेन युद्ध सुरु भएयता युक्रेनलाई करिब २५ अर्ब पाउण्ड बराबरको सहयोग उपलब्ध गराएको जनाएको छ, जसमा १६ अर्ब पाउण्ड प्रत्यक्ष सैन्य सहायता रहेको छ ।
लन्डन भ्रमणपछि राष्ट्रपति जेलेन्स्की मंगलबार अमेरिका जाने कार्यक्रम रहेको छ। त्यहाँ उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्नुका साथै हालै निधन भएका युक्रेन समर्थक अमेरिकी सिनेटर लिन्डसे ग्राहमको अन्त्येष्टिमा सहभागी हुने अपेक्षा गरिएको छ ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal