काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतालाई राम्रो डेलिभरी दिएरमात्र संघीयता बलियो हुने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान अन्तरप्रदेश व्यवस्थापिका मञ्चका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्रीले त्यसका लागि सबैले सकारात्मक पहल लिनुपर्ने बताए ।
‘अन्तरप्रदेश व्यवस्थापिका मञ्च बनाएर संसदको भूमिका प्रभावकारी बनाउन जुन भूमिका खेल्नुभएको छ, यो महत्त्वपूर्ण छ,’ उनले भने, ‘आवधिक रूपमा यस्ता छलफलहरू जरूरी छ । सरकारले मञ्चका निष्कर्षहरूलाई गम्भीरतापूर्वक लिनेछ । अधिकतम सम्बोधनको प्रयास गर्नेछ ।’
छलफलका क्रममा प्रधानमन्त्रीले संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधर र विरोधीबीच बहस भइरहेकाले जनतालाई राम्रो डेलिभरी दिनुपर्ने बताए । ‘हामी संघीय लोकतान्त्रिक गणतन्त्र बलियो बनाउने, संविधानको प्रभावकारी कार्यान्वयन गर्ने पक्षका हौँ । यहाँ संघीयताका विरोधीहरू प्रदेशमाथि आक्रमण गरेर व्यवस्थामाथि अनास्था फैलाउने कोशिसमा छन् । त्यस्तो प्रवृत्तिलाई हामीले निरूत्साहित गर्नुपर्छ । जनतालाई राम्रो डेलिभरि दिएर प्रदेश र स्थानीय सरकारलाई बलियो बनाउनुपर्छ ।’
प्रधानमन्त्रीले संघीय निजामती ऐन र प्रहरी समायोजनको काम छिटो निष्कर्षमा पुर्याउन आफूले पहल गरिरहेको जानकारी दिए । ‘संघीय निजामती सेवा ऐन संसदबाट छिटो पारित गराउन र प्रहरी समायोजनको काम टुंगाउन मैले पहल गरिरहेको छु । यो निष्कर्षमा पुगेपछि प्रदेश र स्थानीय तह बलियो हुन्छ । संघीयतामाथि प्रश्न उठाउनेहरू कमजोर हुन्छन्,’ उनले भने ।
छलफलमा प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, सञ्चार तथा सूचना प्रविधिमन्त्री, कानुनमन्त्री, प्रतिनिधिसभाका उपसभामुख, राष्ट्रिय सभाका उपाध्यक्ष, सातै प्रदेशका सभामुख र उपसभामुख, नेपाल सरकारका मुख्यसचिव लगायत उपस्थित थिए ।