• Menu

सियाटलको लोकप्रिय फुड फेस्टिभलमा अन्धाधुन्ध गोली प्रहार, महोत्सवस्थलमा भागाभाग

नेपाल प्रफिट

२०८३ साउन ११, १४:१३

सियाटलको लोकप्रिय फुड फेस्टिभलमा अन्धाधुन्ध गोली प्रहार, महोत्सवस्थलमा भागाभाग

एजेन्सी । अमेरिकाको सियाटलस्थित स्पेस निडल नजिक आयोजित लोकप्रिय ‘बाइट अफ सियाटल’ फुड फेस्टिभलमा आइतबार साँझ भएको गोलीकाण्डमा दुई जनाको मृत्यु भएको छ भने दुई वर्षीय बालकसहित पाँच जना घाइते भएका छन् ।

सियाटल फायर डिपार्टमेन्टका अनुसार गोली लागेर दुई जनाको घटनास्थलमै मृत्यु भएको हो। घाइते पाँच जनालाई हार्बरभ्यू मेडिकल सेन्टरमा उपचारका लागि भर्ना गरिएको छ। घाइतेमध्ये ५६ वर्षीया महिलाको अवस्था गम्भीर रहेको छ भने अन्य चार जनाको अवस्था स्थिर रहेको जनाइएको छ ।

स्थानीय समयअनुसार साँझ करिब ६ बजे कार्यक्रम समापनतर्फ अघि बढिरहेका बेला गोली चलेपछि महोत्सवमा सहभागीहरू भागाभाग गरेका थिए। त्यसपछि ठूलो संख्यामा प्रहरी र उद्धारकर्मी परिचालन गरी सियाटल सेन्टर क्षेत्र खाली गराइएको थियो ।

वासिङ्टन राज्यका गभर्नर बब फर्गुसनले घटनाको अनुसन्धान जारी रहेको जानकारी दिँदै स्थानीय प्रहरीलाई सहयोग गर्न राज्य प्रहरीको विशेष स्वाट टोली परिचालन गरिएको बताउनुभयो। प्रहरीले आक्रमणकारी पक्राउ परेका छन् वा छैनन् भन्नेबारे भने तत्काल कुनै जानकारी सार्वजनिक गरेको छैन ।

प्रत्यक्षदर्शीहरूका अनुसार गोली चलेपछि महोत्सवस्थलमा अफरातफरी मच्चिएको थियो। मानिसहरू ज्यान जोगाउन भागेका थिए भने केही बालबालिकाका स्ट्रोलरसमेत पल्टिएका थिए ।

सन् १९८२ देखि आयोजना हुँदै आएको ‘बाइट अफ सियाटल’ अमेरिकाको चर्चित तीनदिने खाद्य तथा सांस्कृतिक महोत्सव हो, जहाँ प्रत्येक वर्ष करिब तीन लाख ५० हजार मानिस सहभागी हुने गरेका छन् ।