काठमाडौँ । सर्वोच्च अदालतले बी एन्ड सी मेडिकल कलेज टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालिलाई १५ दिनभित्र सम्बन्धन दिन आदेश जारी गरेको छ ।
न्यायाधीशद्वय कुमार चुँडाल र सारंगा सुवेदीको संयुक्त इजलासले गत चैत १२ गते गरेको फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंद्वारा सञ्चालित उक्त अस्पताललाई सम्बन्धन दिन काठमाडौँ विश्वविद्यालय धुलिखेल काभ्रे, चिकित्सा शिक्षा आयोग सानोठिमी भक्तपुरलगायतका नाममा आदेशको जारी गरेको हो ।
फैसलाको पूर्णपाठमा भनिएको छ, ‘प्रक्रियाअन्तर्गत गठित निरीक्षण टोलीले औंल्याएका मापदण्डअनुसारका जनशक्तिको व्यवस्थापन साथै सो निरीक्षण टोलीले तोकेका कार्यहरु पूरा गर्न लगाई १५ दिनभित्र यस वर्षको शैक्षिक सत्र सुरु हुनुअगावै एमबीबीएस विद्यार्थी भर्ना गर्न पाउने गरी सम्बन्धन दिनु दिलाउनु ।’
मेडिकल व्यवसायी प्रसाईँले आफू सञ्चालक रहेको बी एन्ड सी मेडिकल कलेजले चिकित्सा शिक्षा आयोगलाई विपक्षी बनाउँदै २०७७ असार २१ र २०७७ असोज ३० गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।