• Menu

मातृभूमिको विकासका लागि ढुक्क भएर लगानी गर्नुहोस् : अर्थमन्त्री

नेपाल प्रफिट

२०८३ साउन १०, ११:२१

मातृभूमिको विकासका लागि ढुक्क भएर लगानी गर्नुहोस् : अर्थमन्त्री

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विदेशमा रहेका नेपालीलाई मातृभूमिको आर्थिक विकासमा योगदान पुर्‍याउन स्वदेशमा लगानी गर्न आग्रह गरेका छन्।

शनिबार अस्ट्रेलियामा रहेका नेपाली युवा उद्यमीसँग भएको भर्चुअल छलफलमा अर्थमन्त्री वाग्लेले प्रवासी नेपाली मुलुकका सद्भावनादूत भएकाले नेपालको विकासमा सक्रिय भूमिका निर्वाह गर्न आह्वान गरे। उनले सरकार र पार्टीको ‘एक पटकको नेपाली, सधैँको नेपाली’ भन्ने धारणाप्रति विश्वस्त रहन पनि आग्रह गरे।

अर्थमन्त्री वाग्लेले वर्तमान सरकार आर्थिक पुनरुत्थान र निजी क्षेत्रको प्रवर्द्धनमा केन्द्रित रहेको उल्लेख गर्दै बजेटमार्फत कर, राजस्व तथा उद्योगमैत्री नीतिहरू कार्यान्वयनमा ल्याइएको बताए। ती नीतिले लगानीका लागि अनुकूल वातावरण सिर्जना गरेको भन्दै प्रवासी नेपालीलाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गरे।

उनले नेपालमा गरिएको लगानीको प्रतिफल सहज रूपमा विदेश लैजान सकिने व्यवस्था रहेको स्पष्ट पार्दै सरकारले प्रवासी नेपालीको लगानी आकर्षित गर्न एनआरएनए बन्ड, अफसोर बन्ड तथा वैकल्पिक वित्त परिचालनजस्ता रूपान्तरणकारी अवधारणालाई अघि सारेको जानकारी दिए।

अर्थमन्त्रीले प्रवासमा रहेका नेपालीको साथ, सहयोग र लगानीले नेपालको आर्थिक विकासलाई थप गति दिने विश्वास व्यक्त गरे।