
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्ममा ९८ करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १९.९८ प्रतिशत कम हो । ब्याज खर्च बढ्नु र खुद ब्याज आम्दानी घट्नु नाफा घट्नुको मुख्य कारण बनेको बैंकले जनाएको छ ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २३.८९ प्रतिशत घटेर १ अर्ब ४४ करोड रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष यो रकम करिब १ अर्ब ९० करोड रुपैयाँ थियो । निक्षेप तथा ऋण उपकरणको लागत बढेसँगै ब्याज खर्च ५६ करोड ९१ लाख रुपैयाँबाट बढेर ९७ करोड ७३ लाख रुपैयाँ पुगेको छ ।
यद्यपि, बैंकले २१ करोड २७ लाख रुपैयाँ बराबरको इम्पेयरमेन्ट चार्ज रिभर्स गर्न सफल भएकाले नाफामा थप ठूलो गिरावट आउनबाट जोगिएको देखिन्छ ।
बैंकले पूर्वाधार आयोजनामा कर्जा विस्तार बढाएको छ । बैंकको कर्जा प्रवाह २४ अर्ब ९४ करोड रुपैयाँबाट बढेर ३१ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ । हालसम्म ५६ अर्ब १३ करोड रुपैयाँ बराबरको कर्जा स्वीकृत भइसकेको बैंकले जनाएको छ ।
बैंकको निक्षेप ७ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ भने कुल सम्पत्ति ४१ अर्ब ८४ करोड रुपैयाँ कायम रहेको छ ।
बैंकका अनुसार निष्क्रिय कर्जा शून्य प्रतिशत रहनु बैंकको सबैभन्दा बलियो पक्ष मानिएको छ । साथै, कस्ट अफ फन्ड्स ६.४६ प्रतिशत र बेस रेट ६.७७ प्रतिशत कायम भएको छ । यस्तै, प्रतिसेयर आम्दानी ४ रुपैयाँ ५७ पैसा रहेको छ ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal