
काठमाडौं । मलेसियाली अटोमोबाइल कम्पनी प्रोटोनले आफ्नो नयाँ विद्युतीय ह्याचब्याक ‘इमास ५’ नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक गरेको छ। नेपालका लागि प्रोटोनको आधिकारिक वितरक जगदम्बा मोटर्स ले सोमबारदेखि यस गाडीको बिक्री सुरु गरेको हो ।
कम्पनीले इमास ५ लाई प्राइम र प्रिमियम गरी दुई संस्करणमा उपलब्ध गराएको छ। प्राइम संस्करणको नियमित मूल्य ३२ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ। तर प्रारम्भिक १०० ग्राहकले यो गाडी २९ लाख ९९ हजार रुपैयाँमा खरिद गर्न सक्नेछन्। त्यस्तै, प्रिमियम संस्करणको मूल्य ३६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ भने पहिलो १०० ग्राहकका लागि ३४ लाख ९९ हजार रुपैयाँमै उपलब्ध गराइने कम्पनीले जनाएको छ।
प्रोटोनले चिनियाँ अटो निर्माता जिलीको विद्युतीय सवारी प्लेटफर्ममा आधारित यो मोडललाई आफ्नै ब्रान्ड नाम इमास ५का रूपमा नेपाली बजारमा ल्याएको हो।
प्राइम संस्करणमा ५८ किलोवाट क्षमताको विद्युतीय मोटर र ३०.१२ किलोवाट-आवर ब्याट्री जडान गरिएको छ। यसले १३० न्युटन मिटर टर्क उत्पादन गर्ने तथा पूर्ण चार्जमा २२५ किलोमिटरसम्म यात्रा गर्न सक्ने कम्पनीको दाबी छ।
यस्तै, प्रिमियम संस्करणमा ८५ किलोवाट क्षमताको मोटर र ४०.१६ किलोवाट-आवर ब्याट्री प्रयोग गरिएको छ। यो संस्करणले १५० न्युटन मिटर टर्क उत्पादन गर्नुका साथै एकपटकको पूर्ण चार्जमा ३२५ किलोमिटरसम्म यात्रा गर्न सक्ने बताइएको छ।
रियर-ह्वील ड्राइभ प्रणालीमा आधारित इमास ५ को लम्बाइ ४,१३५ मिलिमिटर, चौडाइ १,८०५ मिलिमिटर, उचाइ १,५७० मिलिमिटर तथा ह्वीलबेस २,६५० मिलिमिटर रहेको छ। सानो टर्निङ रेडियस भएकाले सहरी क्षेत्रमा सञ्चालन गर्न सहज हुने कम्पनीको भनाइ छ।
गाडीमा ८.८ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, १०.१ वा १४.६ इन्चको इन्फोटेनमेन्ट स्क्रिन, ५० वाटको वायरलेस चार्जिङ, २५६ रङको एम्बियन्ट लाइट, हाईकार कनेक्सन र किलेस इन्ट्री जस्ता आधुनिक सुविधा समावेश गरिएको छ।

सुरक्षातर्फ ६ वटा एयरब्याग, एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (एडास), ३६० डिग्री क्यामेरा र इन्डिपेन्डेन्ट मल्टिलिङ्क सस्पेन्सन उपलब्ध छन्। साथै, डीसी फास्ट चार्जरमार्फत ब्याट्रीलाई २० मिनेटमै २० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिने कम्पनीले जनाएको छ।
जगदम्बा मोटर्सका सिनियर जनरल म्यानेजर सुशील क्षेत्रीका अनुसार मूल्य घोषणा हुनुअघि नै ७९ वटा गाडी बुकिङ भइसकेका छन्। यसले नेपाली बजारमा नयाँ मोडलप्रति उत्साहजनक चासो देखिएको उनको भनाइ छ।
कम्पनीले इमास ५ अन्तर्राष्ट्रिय बजारमा पनि लोकप्रिय मोडलका रूपमा स्थापित भएको दाबी गरेको छ। पछिल्लो १६-१७ महिनामा करिब ८ लाख युनिट बिक्री भएको उल्लेख गर्दै कम्पनीले नेपालभर फैलिएको आफ्नो डिलर सञ्जालमार्फत बिक्रीसँगै बिक्रीपछिको सेवा पनि उपलब्ध गराइने जनाएको छ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal