• Menu

रोजगार मेलाले श्रमिक र रोजगारदाता बीचको खाडल पुर्छ : श्रममन्त्री

नेपाल प्रफिट

२०८१ जेठ २३, बुधबार १७:२०

रोजगार मेलाले श्रमिक र रोजगारदाता बीचको खाडल पुर्छ : श्रममन्त्री

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले रोजगारदाता र श्रमिकबीचको खाडल पुर्न श्रमाधान रोजगार मेला आयोजना गरिएको बताएका छन् ।

लुम्बिनी प्रदेशको बुटवलमा बुधबार आयोजित श्रमाधान रोजगार मेलाको उद्घाटन गर्दै मन्त्री अर्यालले रोजगारदाता र श्रमिकलाई एकै स्थानमा भेट गराउन श्रम मन्त्रालयले सातै प्रदेशमा श्रमाधान रोजागर मेलाको आयोजना गरेको बताए ।

श्रम मन्त्रालय, उद्योग, पर्यटन तथा सहकारी मन्त्रालय, बुटवल उपहानगरपालिका र नेपाल उद्योग परिसंघ (सीएनआई) को संयुक्त आयोजनामा लुम्बिनी प्रदेशमा बुधबारदेखि मेला सुरु भएको छ ।

उद्घाटन समारोहमा मन्त्री अर्यालले रोजगारदाताले दक्ष श्रमिक नपाएर विदेशबाट ल्याउनुपर्ने र श्रम बजारमा आएका युवाले रोजगारी नपाएर विदेश जाने अवस्थाको अन्त्य गर्न आवश्यक भएको बताए । यस खालको समस्या समाधानमा यो मेलालाई भरपूर्ण प्रयोग गर्न पनि उनले आग्रह गरे ।

‘यो मेलाबाट रोजगारदाता र श्रमिकबीच सम्बन्ध विस्तार हुनेछ । मेलाबाट तुरून्तै यति संख्यालाई रोजगारी दिन्छौं भन्ने भन्दा पनि दीर्घकालसम्म नेपालका उद्योग प्रतिष्ठानमा आवश्यक पर्ने जनशक्तिको यथार्थ विवरण र रोजगारीमा चाहेकाले कस्तो सीप चाहिँदो रहेछ भन्ने जानकारीका लागि धेरै महत्वपूर्ण हुनेछ,’ उनले भने ।

त्यस्तै, लुम्बिनी प्रदेश सरकारका आन्तरिक मन्त्रालयका सचिव लालबाबु कवारीले यस मेलालाई रोजगारदाता र श्रमिकको सम्बन्ध विस्तारका लागि उपयोग गर्न सकिने बताए । यस मेलाले हाल स्वदेशमा रोजगारी नपाएर विदेश पलायन हुनुपर्ने बाध्यात्मक अवस्थाको अन्त्यका लागि तत्काल परिणाममा नदेखिए पनि दीर्घकालसम्म राम्रो परिणाम दिने विश्वास व्यक्त गरे ।

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले कस्तो विषय पढेमा वा सीप सिकेमा स्वदेशमा पढेर रोजगारी पाइन्छ भन्नेमा यो मेला बढी उपयोगी हुने बताए ।

लुम्बिनी प्रदेश उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण शर्माले रोजगारदाता कम्पनीले स्वदेशमा दक्ष श्रमिक नपाउने ठूलो समस्या रहेको र सिक्दै गरेकोलाई दक्ष बनाएपछि विदेश पलायन हुने अवस्थाले आफूहरू समस्यामा परेको बताए ।

‘रोजगारदाताले आफूले चाहेजस्तो दक्ष जनशक्ति नपाएको र श्रमिकले आफूले चाहेजस्तो रोजगारी नपाएकाले अवस्थालाई अन्त्य गर्न यो मेलालाई शुभ संकेत दिन्छ । रोजगार दिने र रोजगारी चाहने दुबैको मिलन गराएर स्वदेशमै केही गर्ने वातावरण सिर्जना गर्न सहयोग पुग्नेछ,’ उनले भने ।

लुम्बिनी प्रदेश रोजगार मेला बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बीआईसीसी) भएको छ । मेला जेठ २३ गते र २४ गते दुई दिन चल्नेछ । रोजगार खोज्ने, रोजगारदाता र विभिन्न क्षेत्रका सरोकारवालालाई एकै ठाउँमा ल्याएर मेलाले नेटवर्किङ र रोजगारीका लागि अनुकूल वातावरण सिर्जना गर्ने विश्वास व्यक्त गरिएको छ ।

लुम्बिनी प्रदेशमा हुने मेलामा बेरोजगार युवाको ज्ञान, सीप, क्षमताका आधारमा माग संकलन गर्न सहयोग पुग्ने बताइएको छ । मेलामा सहभागिताका लागि ४१ स्टल राखिएका छन् ।

जेठ १७ गते कोशी प्रदेशबाट सुरू भएको श्रमाधान रोजगार मेला बागमती प्रदेशको ललितपुरमा कार्यक्रम गरेपछि ३० गते सम्पन्न हुनेछ । यसबीचमा श्रमधान तथा रोजगार मेला कोशी प्रदेशमा १७ र १८ गते, मधेस प्रदेशमा १९ र २० गते र गण्डकी प्रदेशमा २१ र २२ गते सम्पन्न भइसकेको छ ।

कर्णाली प्रदेशमा वीरेन्द्रनगरको सुर्खेतमा जेठ २५ र २६, सुदूरपश्चिम प्रदेशको धनगढीमा जेठ २७ र २८ गते हुनेछ भने बागमती प्रदेशमा ललितपुरमा जेठ २९ र ३० गते सञ्चालन गर्ने तयारी भइरहेको छ ।