• Menu

सरकारले ऊर्जा क्षेत्रको विकासलाई उच्च प्राथमिकतामा राखेको छ : प्रधानमन्त्री

नेपाल प्रफिट

२०८१ जेठ २२, १६:५०

सरकारले ऊर्जा क्षेत्रको विकासलाई उच्च प्राथमिकतामा राखेको छ : प्रधानमन्त्री

संखुवासभा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ऊर्जा क्षेत्रको विकासलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन् ।

संखुवासभा मकालु-५ को आमराङस्थित अरुण-३ जलविद्युत् आयोजनाको सुरुङको ‘ब्रेक थ्रु’ कार्यक्रममा उनले सन् २०२६ मा विकासशील मुलुकमा फड्को मार्ने र सन् २०३० सम्म दिगो विकास लक्ष्य हासिल गर्ने प्राथमिकता निर्धारण गरेर काम गरिरहेको वर्तमान सरकारले पूर्वाधार विकासलाई पहिलो प्राथमिकतामा राखेको बताएका हुन् ।

‘यस आयोजनाबारे मैले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा जानकारी लिँदै आएको छु । सन् २०१४ नोभेम्बर २५ मा परियोजना विकास सम्झौतामा हस्ताक्षर भई हाल निर्माणाधीन छ,’ उनले भने, ‘हाल परियोजनाको उत्पादनतर्फ ७४.०९ प्रतिशत र प्रसारण लाइनतर्फ ३७.९५ प्रतिशत भौतिक प्रगति भएकामा खुसी लागेको छ ।’

आयोजना निर्माणपछि देशको विद्युत् व्यापारमा महत्वपूर्ण योगदान हुने विश्वास प्रधानमन्त्री दाहालले व्यक्त गरे । ‘यस परियोजनाका लागि आवश्यक जग्गा प्राप्तिलगायत आवश्यक सहयोग र सहजीकरण गर्दै निर्धारित समयमै आयोजनाको बाँकी काम सम्पन्न गर्न म सम्बन्धित पक्षलाई निर्देशन दिन्छु,’ उनले भने ।

अघिल्लो महिना आफूले काठमाडौँ-नौबिसे सुरुङमार्ग र बहुउद्देश्यीय मरिन डाइभर्सन परियोजनाको ‘ब्रेक थ्रु’ गरेको स्मरण गर्दै उनले राष्ट्रिय प्राथमिकताका आयोजनाहरुको अनुगमन र जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट श्रव्यदृश्यका माध्यमबाट लिइरहेको बताए ।

कार्यालयबाट आयोजना निर्माणमा देखिएको समस्या पहिचान गरी समाधानका निम्ति आवश्यक सहजीकरण हुँदै आएको उनको भनाइ छ । आगामी दिनमा यस्ता आयोजनाको नियमित अनुगमन गरी कार्यतालिका नै बनाएर अगाडि बढ्ने सोच आफूले बनाएको उनले जानकारी दिए ।

‘मैले पटक-पटक भन्दै आएको छु, भौतिक विकासलाई व्यवस्थित गर्दै जाँदा मानवीय विकासका क्षेत्रमा पनि छिटो प्रगति गर्न सकिन्छ । यसलाई मैले नेपाल सुरूङ युगमा प्रवेश गरेको विम्बद्वारा विकास र समृद्धिको यात्रामा लामबद्ध हुन अपिलसमेत गर्दै आएको छु,’ उनले भने ।

आयोजनाबाट सन् २०२५ को मार्चदेखि विद्युत् उत्पादन गर्ने लक्ष्य लिइएको छ ।  आयोजनामा २२५ मेगावाट क्षमताका चारवटा टर्वाइनबाट नौ सय मेगावाट विद्युत उत्पादन हुनेछ ।