• Menu

हराएको वा बिग्रिएको सिमकार्डका लागि अब अनलाइनबाटै निवेदन दिन सकिने

नेपाल प्रफिट

२०८३ साउन १, शुक्रबार १७:२५

हराएको वा बिग्रिएको सिमकार्डका लागि अब अनलाइनबाटै निवेदन दिन सकिने

काठमाडौं । नेपाल टेलिकमले हराएको वा बिग्रिएको सिमकार्ड (भौतिक वा विद्युतीय) को सट्टा नयाँ सिम प्राप्त गर्न अब अनलाइनमार्फत विवरण भर्न सकिने व्यवस्था लागू गरेको छ। कम्पनीले साउन १ गतेदेखि उक्त सेवा सञ्चालनमा ल्याएको जनाएको छ।

सेवा लिन चाहने ग्राहकले नेपाल टेलिकमको निर्धारित विद्युतीय सेवामार्फत हराएको वा बिग्रिएको सिम सम्बन्धी विकल्पमा गई आवश्यक विवरण भर्नुपर्नेछ। विवरण दर्ता भएपछि ग्राहक स्वयं वा आफ्नो प्रतिनिधिमार्फत सम्बन्धित ग्राहक सेवा केन्द्रबाट नयाँ सिम प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ।

यसका लागि ५० रुपैयाँ शुल्क लाग्नेछ। ग्राहक स्वयं उपस्थित हुन नसके प्रतिनिधिको नाम निवेदनमै उल्लेख गर्नुपर्नेछ र प्रतिनिधिले परिचय खुल्ने कागजात पेश गर्नुपर्ने व्यवस्था गरिएको नेपाल टेलिकमले जनाएको छ।

नेपाल टेलिकमका अनुसार उक्त सेवामार्फत हराएको वा बिग्रिएको सिमको सट्टा नयाँ भौतिक सिम, नयाँ विद्युतीय सिम, भौतिक सिमलाई विद्युतीय सिममा रूपान्तरण गर्ने तथा ग्राहक विवरण अद्यावधिक गर्ने सुविधा पनि उपलब्ध हुनेछ।