काठमाडौं । नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहप्रति आक्रोश पोखेका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकको शून्य समयमा उनले नगर प्रमुख बालेनलाई ‘पैसा कति चाहियो’ भन्दै प्रश्न पनि गरेका छन् ।
‘म भन्न चाहन्छु बालेन जीलाई पैसा कति चाहियो ? सरकार दिन तयार छ, हामी दिन्छौं, सरकारले दिन्छ, हामी अर्थमन्त्री जीलाई भनौंला, हामी सम्बन्धित मन्त्रालयलाई भनौंला, प्रधानमन्त्री जीलाई भनौंला, काठमाडौंलाई अझै सुन्दर बनाउन तपाईंका योजना के छन् ?’ उनले प्रश्न गरे ।
तर, उच्छृंखल नबन्न र उत्तेजना नफैलाउन उनले नगर प्रमुख बालेन शाहलाई आग्रह गरे । ‘आउनुस् हामी सँगसँगै काम गरौं तर उत्तेजना फैलाएर, उच्छृंखल गतिविधि गरेर, तपाईं मार्फत लाखौं युवाले भविष्य खोजेका हुन्, लाखौं युवाले आफ्नो भविष्य, आफ्नो सपना तपाईं मार्फत खोजेका हुन्,’ सांसद भट्टराईले भने ।
‘तर, पछिल्ला दिनमा तपाईं जसरी जाँदै हुनुहुन्छ, ती युवाको सपनामाथि तपाईं धोका दिँदै हुनुहुन्छ, यो मुलुकलाई धोका दिँदै हुनुहुन्छ,’ उनले थपे ।