काठमाडौं । नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले राष्ट्रिय सरकार गठनका लागि प्रस्ताव गरेका छन् ।
प्रतिनिधि सभाको विशेष समयमा मंगलबार उनले जनतामा रहेको निराशा चिर्न र आशा जगाउने गरी काम गर्न राष्ट्रिय सरकार गठन गरेर अघि बढ्नुपर्ने बताएका हुन् ।
‘यही संसद भित्रबाट हामी राष्ट्रिय सरकार निर्माण गर्न सक्छौं, एउटा बडो डेमोक्रेटिक अलाइन्सको कल्पना गरौं,’ उनले भने ।
राष्ट्रिय सरकार गठन गरेर आवश्यक ठाउँमा संविधान संशोधन पनि गर्न र जनतालाई सुशासनको प्रत्याभूति दिलाउन सहज हुने उनको तर्क छ । ‘यसो गरे जनतामा आशा र भारोसको सञ्चार गराउन सकिन्छ,’ उनले भने ।
२०७४ सालमा एमाले र माओवादी केन्द्रको गठबन्धनलाई जनताले विश्वास गरे पनि त्यसबेलाको सरकारले ठिक ढंगले संविधान कार्यान्वयन गर्न र मुलुकलाई ठिक दिशामा अघि बढाउन नसकेको उनले स्मरण गरे ।