काठमाडौँ । प्रमुख सत्तारुढ घटक एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थमन्त्री वर्षमान पुनले आफू मुलुकका लागि अप्ठ्याराहरुका बीचमा काम गर्न सक्छु भन्ने आँट र अठोट गरेर आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बजेट ल्याएको बताएका छन् ।
आइतबारबाट सुरु भएको विनियोजन विधेयकमाथिको छलफलका क्रममा प्रतिनिधिसभामा पौडेलले मन्त्री पुनले आफूले आफैंमाथि चुनौती खडा गरेको र उक्त चुनौती पार गर्ने अठोट व्यक्त गरेको बताए । अर्थमन्त्रीले सहज बाटो नरोजेर चुनौतीपूर्ण बाटो रोजेको उनको भनाइ थियो ।
राजस्व संकलन, आन्तरिक तथा वैदेशिक ऋण र सहायता एवं पुँजीगत खर्चका सम्बन्धमा मन्त्री पुनले बजेटमार्फत निर्धारण गरेका लक्ष्य असम्भव भने नरहेको पौडेलले बताए । ‘मन्त्रीज्यूले सहज यात्रा रोज्नुभएको छैन । आफैंमाथि चुनौती सिर्जना गर्ने र चुनौती पूरा गर्ने सामना गर्ने अठोट उहाँले गर्नुभएको छ । बजेट र्निाणको यो दृष्टिकोणलाई म राम्रो मान्छु,’ उनले भने ।
मन्त्री पुनले सहज ढंगले काम नगर्ने र मुलुकका लागि, अप्ठ्याराहरुका बीचमा काम गर्ने र अघि बढ्ने भन्ने चुनौती उठाएको उनको भनाइ छ । ‘सहज यात्रा त जो कसैले पनि गर्न सक्छ । चुनौतीपूर्ण यात्रा तय गर्ने र त्यसलाई गर्ने कुरा बढ्ता महत्वपूर्ण हुन्छ,’ उनले भने । अर्थमन्त्रीले सम्भव तर मेहनतका साथ मात्र सम्भव हुने लक्ष्यहरु निर्धारण गरेको उनले बताए ।
बजेटमा १२ खर्ब ६० अर्बको राजस्व संकलन, ५२ अर्बको वैदेशिक सहायता, २ खर्ब १७ अर्ब ६७ करोड वैदेशिक ऋण परिचालन तथा ३ खर्ब ६७ अर्ब २८ करोड पुँजीगत खर्च गर्ने तथा ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको चर्चा गर्दै पौडेलले आफ्नो अठोट पूरा गर्न अर्थमन्त्रीलाई शुभकामना दिए ।
‘बजेटमा उहाँले निर्धारण गरेका लक्ष्य पूरा गर्न सजिलो छैन । तर, साँच्चै मेहनतका साथ लाग्ने र राज्यका सबै संरचनालाई सही ढंगले परिचालन गर्ने हो भने यो लक्ष्य पूरा गर्न असम्भव पनि छैन,’ उनले भने, ‘सम्भवमध्येको उच्चतम लक्ष्य मन्त्रीज्यूले लिनुभएको छ । यो ठिकै हो भन्ने मलाई लाग्छ । त्यसकारण म यसलाई राम्रो मान्छु ।’
कतिपयले बजेटलाई महत्वाकांक्षीको संज्ञा दिए पनि आफूले भने उच्च आकांक्षी पदावली प्रयोग गर्न चाहेको उल्लेख गरे । राजस्वले साधारण खर्च पनि नधान्ने र ऋण तिर्नका लागि ऋण नै लिनुपर्ने अवस्थामा मन्त्री पुनले मुलुकको सामर्थ्यलाई उच्चतम प्रयोग गरेर चुनौती मोल्ने आँट गरेको पौडेलको भनाइ छ ।
पूर्वअर्थमन्त्री पौडेलले अर्थमन्त्रीले पेस गरेको बजेटप्रति आफू र आफ्नो दलको दृढ समर्थन रहेको भन्दै पारित गर्न बजेटको पक्षमा मतदान गर्ने पनि जानकारी दिए । उनले विपक्षी दलका सांसदलाई समेत बजेटमा समर्थन जनाउन आग्रह गरे ।
‘बजेटप्रति म र मेरो दल नेकपा एमालेको तर्फबाट दृढ समर्थन जनाउन चाहन्छु र हामी बजेट पारित गर्नका निम्ति पक्षमा मतदान गर्नेछौं भनेर अवगत गराउन चाहन्छु,’ उनले भने ।
पौडेलले विगतमा निरन्तरका भनाइहरुको पुनरावृत्ति हुने गरी तीनदेखि साढे तीन घण्टा लामो बजेट वक्तव्य आउने गरेकामा मन्त्री पुनले संक्षिप्तमा बजेट ल्याएको भन्दै सराहना गरे । उनले २० खर्बको बजेट आउने हल्लाका बीच अर्थमन्त्रीले १८ खर्ब ६० अर्ब ३० करोडको बजेट ल्याएकोमा पनि धन्यवाद दिए ।
तुलनात्मक रुपमा बजेट सन्तुलित रहेको उनको भनाइ छ । ‘निरन्तरका भनाइहरुको पुनरावृत्ति गर्नुभन्दा बजेट छोटो बनाउनुभएको छ, यसको म सराहना गर्न चाहन्छु । बजेट तुलनात्मक रुपमा सन्तुलित पनि छ,’ पौडेलले भने ।
बाहिर मानिसहरुले चर्चा गरेको, आशंका गरेको र अनुमानका आधारमा विरोधका स्वर पनि आइरहेको उनले स्मरण गरे । ‘२० खर्ब हाराहारीको बजेट बन्छ भनेर चर्चा पनि गरिएका थिए । यहाँले १८ खर्ब ६० अर्ब ३० करोडको बजेट प्रस्तुत गर्नुभएको छ । यो आकारलाई म तुलनात्मक रुपले सन्तुलित मान्छु । यद्यपि बजेटमा स्रोतको प्रबन्ध गर्ने अभिभारा सजिलो छैन,’ उनले भने ।
बजेटले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई सिंगो राष्ट्रको आकांक्षा भएकाले पूरा गर्नुपर्छ भन्ने दृष्टिकोण अघि सारेकामा पौडेलले खुसी व्यक्त गरे । यस्तै राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम, प्रधानमन्त्री कृषि आधनुनिकीकरण कार्यक्रम, प्रधानमन्त्री रोजगार कार्यक्रम, मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय, मध्यपहाडी पुष्पलाल राजमार्ग, मदन भण्डारी राजमार्ग, पानी जहाज, रेल मार्ग, भेरी बबई र सुनसरी मरिण नदी पथान्तरण अयाोजनाजस्ता महत्वपूर्ण कार्यक्रम र आयोजनालाई निरन्तरता दिइनु बजेटका साकारात्मक पक्ष भएको उल्लेख गरे ।
उनले यी आयोजनामा स्रोतको कमी हुन नदिन पनि अर्थमन्त्रीको ध्यानाकर्षण गराए । अर्थमन्त्री पुनले बजेटमा उपभोक्ता अदालत गठन गर्ने विषय अघि सारेकामा आफ्नो दलले सराहना गर्ने पौडेलले जनाए ।