• Menu

वाइवाइद्वारा टी-२० विश्वकप क्रिकेटर र क्रिकेट टिमलाई पुरस्कार घोषणा

नेपाल प्रफिट

२०८१ जेठ २०, २१:४९

वाइवाइद्वारा टी-२० विश्वकप क्रिकेटर र क्रिकेट टिमलाई पुरस्कार घोषणा

काठमाडौं । वाइवाइ चाउचाउले जारी आईसीसी टी-२० विश्वकपमा सहभागी नेपाली राष्ट्रिय टिमलाई प्रोत्साहित गर्न पुरस्कार घोषणा गरेको छ । जारी विश्वकपको सुपर-८ मा पुग्न सफल भएमा नेपाली राष्ट्रिय टिमलाई वाइवाइ चाउचाउले नगद ३० लाख रुपैयाँ पुरस्कार दिने सीजी फुड्स नेपालले जनाएको छ ।

यसका साथै वाइवाइ चाउचाउले जारी विश्वकपमा नेपालको जितको शृंखला अगाडि बढाउन खेलाडीको मनोबल उच्च पार्ने उद्देश्यले अन्य विभिन्न पुरस्कार पनि घोषणा गरेको छ ।

प्रत्येक रन बनाएबापत १ हजार, प्रत्येक चौकाबापत ८ हजार, प्रत्येक छक्काबापत १२ हजार, प्रत्येक विकेटबापत १५ हजार, प्रत्येक अर्धशतकबापत ५० हजार, प्रत्येक शतकबापत १ लाख र नेपाली टिमको प्रत्येक जितमा १ लाख ५० हजार रुपैयाँ नगद उपलब्ध गराउनेछ ।

नेपाल क्रिकेट संघ (क्यान) सँगको सहकार्यमा यी पुरस्कार घोषणा गरिएको हो । यसका लागि सीजी फुड्स नेपाल र क्यानबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

यस पुरस्कार घोषणाले नेपाली खेलाडीलाई उच्च प्रदर्शन गर्न थप प्रोत्साहन मिल्ने विश्वास गरिएको छ । चौधरी ग्रुपअन्तर्गतको सीजी फुड्सले विगत २० वर्षदेखि नेपालको यू-१९ क्रिकेटको प्रायोजन गर्दै आएको छ ।

‘प्रत्येक नेपालीलाई राष्ट्रिय टिमले टि-२० क्रिकेट विश्वकपको ट्रफी उचालेको हेर्ने उत्कट चाहना छ । हाम्रा खेलाडी त्यसका लागि योग्य छन् तापनि उनीहरूको हौसलालाई अझै माथि उठाउनु हाम्रो कर्तव्य हो,’ चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले भने, ‘वाइवाइ विगत २० वर्षदेखि नेपाली क्रिकेटको विकासमा सहयात्रा गरिरहेको छ । र, नेपालले विश्वकप खेल्ने यस ऐतिहासिक क्षणमा वाइवाइ हाम्रा खेलाडीको साथमा छ भन्ने यो अर्को प्रमाण हो ।’

नेपालले टि-२० विश्वकप शृंखलाअन्तर्गत आफ्नो पहिलो खेल नेदरल्यान्डसँग मंगलबार खेल्दै छ । त्यस्तै टेस्ट मान्यताप्राप्त साउथ अफ्रिका, श्रीलंका र बंगलादेशसँग पनि नेपालले पहिलो चरणमा खेल्ने तालिका छ ।