• Menu

मधेस प्रदेशको रोजगार मेलाको ६ हजारले गरे अवलोकन

नेपाल प्रफिट

२०८१ जेठ २०, १७:२९

मधेस प्रदेशको रोजगार मेलाको ६ हजारले गरे अवलोकन

धनुषा । संघ, प्रदेश र स्थानीय सरकारको संयुक्त आयोजनामा ‘मधेश प्रदेश श्रमाधान रोजगार मेला’ मधेस प्रदेशको जनकपुरमा सफलतापूर्वक सम्पन्न भएको छ । मधेस प्रदेशको जनकपुरधामस्थित उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न मेलामा शनिबार तीन हजार पाँच सय र आइतबार करिब दुई हजार पाँच सय गरी ६ हजारभन्दा धेरै व्यक्तिले मेलाको अवलोकन गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।

दुई दिनमा रोजगारीको खोजीमा मेला स्थल पुगेका करिब २ हजार युवाले रोजगारीका लागि आवेदन दिएको जनाइएको छ । त्यस्तै मेलामा रोजगारीको लागि होटलतर्फ १०५ जना, अटोमोबाइल क्षेत्रमा ३५ र बैंकमा २७ र सेक्युरिटी गार्डतर्फ ८० जना गरी जम्मा २४७ आवेदकलाई अन्तर्वार्ताका लागि आमन्त्रण गरिएको छ ।

मेलामा उद्योग प्रतिष्ठानका १४, होटल संस्थाहरु ४, रोजगारसम्बन्धी तालिम प्रदायक संस्थाका ११, बैंक तथा वित्तीय संस्थाका २ तथा नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, श्रम तथा रोजगार कार्यालय जनकपुर र रोजगार सूचना केन्द्रसमेतका ६ गरी जम्मा ३७ स्टल राखिएका थिए ।

नेपाल उद्योग परिसंघ मधेस प्रदेशको संयोजनमा भएको मेलाको शनिबार श्रममन्त्री डोलप्रसाद अर्यालले उद्घाटन गरेका थिए । त्यस्तै मेलामा प्रदेश श्रम तथा यातायातमन्त्री बेची लुगेलीको पनि उपस्थिति थियो ।

मेलामा श्रमाधान संवादअन्तर्गत ४ वटा प्यानलहरुमा श्रम आप्रवासन र कानुनी प्रक्रिया र मनोसामाजिक प्रभाव, श्रम बजारमा भ्रामक सूचनाको असर, मधेसमा महिला उद्यमी संघर्षबीचको अवसर र वैदेशिक रोजगार कति सहज कति असहज, अबको बाटो सामाजिक सुरक्षाको प्यानल छलफल सम्पन्न भयो । उक्त प्यानल छलफलमा करिब २ हजार जनाको उपस्थिति थियो ।

आन्तरिक रोजगारीलाई प्रवर्धन गर्ने तथा वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले आयोजित ‘श्रमाधान रोजगार मेलाको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, मधेश प्रदेशको श्रम तथा यातायत मन्त्रालय र वीरगन्ज महानगरपालिका, जनकपुर, कलैया, जीतपुर सिमरा उपमहानगरपालिका र चन्द्रपुर नगरपालिका आयोजकका रुपमा रहेका थिए ।

देशका सातै प्रदेशमा हुने ‘श्रमाधान रोजगार मेला’ बागमती प्रदेशको ललितपुरमा जेठ ३० गते समापन हुनेछ । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ र होटल संघ नेपाल मेलाको सहआयोजकका रुपमा रहेका थिए ।

अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्र (सामी) र वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिको पुन: एकीकरण परियोजना (रेमी) ले पनि मेलामा विशेष सहयोग गरेका थिए ।