काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादव ले बजारमा अत्यावश्यक उपभोग्य वस्तुको मूल्य तत्काल घटाउन निजी क्षेत्रका व्यवसायीलाई निर्देशन दिएकी छन् ।
सिंहदरबारस्थित मन्त्रालयमा मंगलबार आयोजित विशेष बैठकमा मन्त्री यादवले विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य घटिसकेको उल्लेख गर्दै नेपालमा पनि त्यसअनुसार वस्तुको मूल्य समायोजन हुनुपर्ने बताइन् । उनले बढ्दो महँगीका कारण सर्वसाधारण नागरिक मारमा परेको भन्दै कुनै बहानामा ढिलाइ नगरी बजार भाउ घटाउन आग्रह गरिन् ।
बैठकमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, फलफूल तथा तरकारी व्यवसायी महासंघ तथा चामल, दाल र तेल व्यवसायी महासंघ का प्रतिनिधिहरू सहभागी थिए । व्यवसायीहरूले आफ्ना समस्या र गुनासो मन्त्रीसमक्ष राखेका थिए ।
मन्त्री यादवले नुन, तेल, चामलदेखि हरियो तरकारीसम्मका अत्यावश्यक वस्तुको मूल्य वास्तविक बजार अवस्थाअनुसार घटाएर उपभोक्तालाई राहत दिनुपर्ने बताइन् । सरकार र प्रधानमन्त्रीको समेत यस विषयमा विशेष चासो रहेकाले बजारलाई छिट्टै उपभोक्तामैत्री बनाइने उनको भनाइ थियो।
बैठकमा सहभागी निजी क्षेत्रका प्रतिनिधिहरूले पनि आम उपभोक्तालाई राहत पुग्ने गरी मूल्य समायोजनमा सरकारलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
कार्यक्रममा मन्त्रालयका सहसचिवहरू तथा आपूर्ति व्यवस्थापनसम्बन्धी निकायका प्रमुखहरूको समेत उपस्थिति थियो। प्रारम्भमा मन्त्रालयका प्रवक्ता तथा सहसचिव नेत्र सुवेदी ले उपभोक्ता संरक्षण ऐन का प्रावधानबारे संक्षिप्त प्रस्तुति दिएका थिए ।